शिक्षामा भएको लगानीको प्रतिफल आउने गरि काम गरौंः नगर प्रमुख खनिया
चितवन , २२ जेठ । खैरहनी नगरपालिकाका नगर प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष शशि कुमार खनियाले शिक्षामा भएको लगानीको प्रतिफल आउने गरि काम गर्न आग्रह गरेका छन् । खैरहनी नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्षलाई लक्षित गरि संचालन गरेको क्षमता विकास तालिम कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख खनियाले नगरपालिकाले शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेको भन्दै त्यसको प्रतिफलमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनेगरि काम गर्नुपर्नेमा जोड दिए । खैरहनी नगरपालिकाले शिक्षको क्षेत्रमा नियमिता भन्दापनि अतिरिक्त लगानी समेत गरेकोले सबैजना जिम्मेवार हुनुपर्ने बताए ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न सिक्स टु सिक्स कक्षा ( बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म कक्षा ) , विषयगत स्वयम्सेवक शिक्षक खटाउने , वस्तीमै गृहकार्य कक्षा संचालन गर्ने , ११ र १२ कक्षामा निःशुल्क रुपमा विज्ञान संकाय अध्ययन गराउने , शिक्षक मिलान लगायतको काम गरेको र उत्कृष्ट नतिजा दिने शिक्षकहरुलाई पुरस्कृत गर्ने अभियान समेत संचालन गर्न लागेको बताए । उनले सामुदायिक विद्यालयको पठनपाठनमा हेलचेक्राई गर्न नहुने भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र निजि विद्यालयमा अध्ययन गर्ने विद्यालयहरुको शैक्षिक स्तर समान बनाउने गरि सबैले काम गर्नुपर्ने बताए । नगर प्रमुख खनियाले स्थानिय सरकारलाई शिक्षाको जिम्मेवारी दिएपनि पूर्ण अधिकार नदिएको र दरबन्दी , भवन लगायतको लागि प्रदेश र संघमा भर पर्नुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा बोल्दै खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले तालिममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य अधिकार , ऐन कानुनको बारेमा जानकारी दिन र विद्यालयमा परेका समस्याको बुझ्न सहज होस भनेर कार्यक्रम राखिएको बताए । दुईदिनसम्म संचालन हुने तालिममा खैरहनी नगरभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्षहरु गरि ५४ जना सहभागी रहेका छन् । उक्त कार्यक्रममा नगरपालिकाबाट विद्यालयमा भएका निकासा , विद्यालयमा सामाजिक परिक्षण तथा विद्यालय सुधार योजना लगायतको विषयमा जानकारी दिइने खैरहनीका शिक्षा अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए । उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , शिक्षा शाखाका प्राविधिक सहायक पुष्पराज दवाडी लगायतको उपस्थिति रहेको थियो ।