खैरहनीका स्वास्थ्य संस्थामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना सामाग्री राख्न सुरु
चितवन , २२ जेठ । खैरहनी नगरपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य संस्थामाहरुमा किशोरावस्थामा अति आवश्यक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना सामाग्री राख्न सुरु गरिएको छ । किशोरावस्थामा हुने शारिरिक परिवर्तन तथा मानसिक कैतुहलता मेटाउन आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचनामुलक सामाग्रीहरु स्वास्थ्य संस्थाहरुमा अध्ययन गर्न सहज हुने स्थानमा राख्न सुरु गरिएको हो । उक्त अभियान स्वरुप आज खैरहनी नगर अस्पताल र केयर पोलिक्लिनकमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना सामाग्री राखिएको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेतीको उपस्थितिमा उक्त सामाग्रीहरु राखिएको हो । युएस ऐडको मोमेन्टम परियोजनाको सहयोगमा उक्त सामाग्रीहरु राखिएको हो । खैरहनी नगरपालिकाभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्था र माध्यमिक विद्यालय गरि ३१ स्थानमा उक्त सूचना सामाग्री राखिने खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिए । स्वास्थ्य संस्थाहरुमा सूूचना सामाग्रीसँगै परामर्श कक्षको समेत व्यवस्था गर्न लागिएको उनले बताए ।