खैरहनीमा किसानहरुलाई कृषि मेसिनरी सामाग्री तथा बाख्रा र पाडा वितरण
चितवन, ३१ जेठ । खैरहनीमा किसानहरुलाई अनुदानमा कृषि मेसिनरी सामाग्री वितरण गरिएको छ । खैरहनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषिमा प्रयोग गरिने मेसिनरी सामाग्री वितरण गरेको हो । नगरपालिकाले आज खैरहनी नगरपालिका वडा नम्बर ९ मा गरिवी निवारण बहुउदेश्यीय सहकारी संस्था मार्फत १ थान मिनिटिलर , २ थान विडर , २ थान सिंगल सिडर र ३ थान डबल सिडर वितरण गरेको कृषि शाखा प्रमुख गौरव न्यौपानेले जानकारी दिए । एक वडा एक सहकारी कार्यक्रम मार्फत किसानहरुलाई आवश्यक सामाग्री तथा अनुुदान दिने निति रहेको उनले बताए । सोहि स्थानमा आज खैरहनी नगरपालिकाले ८० जना कृषकहरुलाई पाडा , बाख्रा र हासको चल्ला वितरण गरेको छ ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा १८ जना कृषकहरुलाई एक एकवटा बाख्रा , ५२ जनालाई पाँच पाँचवटा हासको चल्ला र १० जनालाई एक एकवटा पाडा वितरण गरिएको खैरहनी नगरपालिकाका पशु विकास अधिकृत रुद्र कुमार श्रेष्ठले जानकारी दिए । किसानहरुलाई दुध र मासुको माध्यमबाट आम्दानी सिर्जना होस् र दैनिक जिविकोपार्जनमा सहयोग पुगोस्् भनेर यो कार्यक्रम ल्याइएको श्रेष्ठले बताए । उनले यसै अभियान अनुरुप वडा नम्बर २ , १० र १३ का किसान ८६ जना कृषकहरुलाई पाडा , बाख्रा र हासको चल्ला वितरण गर्ने तयारी रहेको उनले बताए । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेती र खैरहनी ९ का वडा अध्यक्ष बन्धुराम महतोको उपस्थितिमा कृषि मेसिनरी तथा पाडा , बाख्रा र हासको चल्ला वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै खैरहनीका नगर प्रमुख शशि कुुमार खनियाले नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम ल्याएको बताए । उनले अनुदान लिएपछि त्यसलाई क्रमशै विस्तार गर्दै उत्पादन वृद्धि गर्दै जानुपर्नेमा जोड दिए । अनुदानलाई लक्षित वर्गले सहि सदुपयोग गर्नुपर्ने उनले बताए । खैरहनी ९ का वडा अध्यक्ष बन्धुराम महतोले अनुदानमा पाएको सामाग्री तथा पशुचौपायको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए । अनुदानमा पाएको पाडा , बाख्रा बिक्री गर्ने वा विभिन्न वाहना बनाएर काट्ने काम गरे वडा तथा नगरले त्यस्ता किसानलाई कारबाही गर्ने वडा अध्यक्षले चेतावनी समेत दिए ।