जनप्रतिनिधिबीचको विवादले राप्तीमा बजेट होलीडे, कुनैपनि खर्च गर्न नपाउने
चितवन, ०३ साउन । चितवनको राप्ती नगरपालिकामा बजेट होलीडे भएको छ । जनप्रतिनिधिहरुबीचको विवादले राप्तीमा नगरसभा बस्ने सकेको छैन । राप्ती नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्न नसकेको कारण बजेट होलीडे भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र प्रत्येक नगरपालिकाले नगर सभाको आयोजना गरि बजेट प्रस्तुत गर्नुपर्ने र असार अन्तिमभित्र बजेट पारित गर्नुपर्ने प्रावधान रहेको छ । तर, राप्ती नगरपालिकाले जनप्रतिनिधिहरुको आपसी कलहले नगर सभा आह्वान समेत गर्न सकेन ।
नगरसभाबाट बजेट प्रस्तुत नभएपछि साउन १ गतेदेखि राप्ती नगरपालिकामा बजेट होलीडे भएको हो । अब राप्ती नगरपालिकाले कुनै पनि शीर्षकमा खर्च गर्न नपाउने तथा राजस्व संकलन गर्न समेत कानुनी अन्योलता छाएको छ । नगरसभा हुन नसकेको कारण अब कार्यालय सञ्चालन खर्च समेत गर्न नपाउने अवस्था आएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । ‘राप्तीमा बजेट होलीडे भयो अब एक रुपैयाँ पनि खर्च गर्ने अधिकार छैन,’ भण्डारीले भने । राजस्व संकलनको विषयमा के गर्न सकिन्छ भनेर सरसल्लाह भइरहेको उनले बताए । आज (बिहीबार)सम्म त सिस्टम अपग्रेडको लागि राजस्व संकलन बन्द भएकाले अब भोलि (शुक्रबार)बाट के गर्ने भनेर मन्त्रालयसँग सल्लाह भइरहेको भण्डारीले समावेशी खबरलाई बताए ।
एमाले र काँग्रेस निकटका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा ताला लगाएको र उच्च अदालतमा समेत मुद्दा दायर गरेको कारण नगरसभा नभएको राप्तीका नगरप्रमुख शमशेर लामाको जिकिर छ । कार्यपालिका बैठक र पुषको नगरसभा माग गर्दै एमाले र काँग्रेस निकटका जनप्रतिनिधिहरुले २०८० चैत २३ गते मुद्दा दायर गरेका थिए । उनीहरुले फागुन ९ गते नगरप्रमुख र उप प्रमुखको कार्यकक्षमा ताला समेत लगाएका थिए । नगरप्रमुख लामाले साउनको दोस्रो हप्तासम्ममा अघिल्लो वर्षको तुलानामा एक तिहाई बराबरको पूरक बजेट ल्याएर भए पनि प्रशासनिक र अतिआवश्यक कामहरु गर्ने तयारी गरेको बताए । नेकपा एमालेबा निर्वाचित राप्ती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सीताराम बलले मेयरको दम्भको कारण अहिलेको अवस्था आएको बताए । प्रत्येक महिना कम्तिमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान भएपनि ४–५ महिनासम्म कार्यपालिका बैठक नबोलाएपछि २०८० पुस १८ गते ६५ जना नगरसभा सदस्यहरूको हस्ताक्षर सहित नगरप्रमुखलाई कार्यपालिका बैठक र हिउँदे अधिवेशन (नगर सभा) बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको वडाध्यक्ष बलले बताए ।
पटक–पटक मौखिक आग्रह तथा ज्ञापनपत्रसहित अल्टिमेटम दिँदासमेत नगर प्रमुख गैरजिम्मेवार भएर कुनैपनि सुनुवाई नगरेकोले बाध्य भएर २०८० फागुन ९ गते नगरप्रमुख र उप प्रमुखको कार्यकक्षमा ताला लगाएको उनले बताए । ताला लगाएपछि पनि नगरप्रमुखले कुनै वास्ता नगरेको, छलफल समेत नगरेको र आफूहरुको माग सुनुवाइ नगरेकोले उच्च अदालत पाटन हेटौँडामा कार्यपालिका बैठक र नगर सभा गराउन माग सहित मुद्दा दायर गरेको उनले बताए । जनप्रतिनिधिहरुको विवादले राप्तीका जनता अहिले चिन्तित भएका छन् ।















