खैरहनीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक पुरस्कृत
चितवन , ०२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा खैरहनी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत गरेको छ । आज आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाभित्र कक्षा ८ र कक्षा १० को एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । नगरभित्रका सामुदायिक र संस्थागत दुवैतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्राहरुलाई पुरस्कृत गरिएको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
सामुदायिक विद्यालयबाट कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउने खैरहनी माविका डेनियल पाठक र सुनिता तामाङ तथा संस्थागत विद्यालयतर्फ डेजी बोर्डिङका आर्यन अधिकारी , सुगम गौतम र नेपाल आदर्श शिक्षा सदनकी उषा पौडेल पुरस्कृत भएका हुन् । त्यस्तै कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ कंकाली माविका सागर शर्मा र खैरहनी माविकी कृषा बुर्लाकोटीलाई पुरस्कृत भए ।
संस्थागत विद्यालयतर्फबाट ग्लो साइन एकेडेमीका आत्मिक अधिकारी र मोर्डन बोर्डिङकी राशी बिडारी पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई नगद ३ हजार ४ सय रुपैयाँ पुरस्कार राषी सहित सम्मान पत्र र स्टेशनरी समेत प्रदान गरिएको छ ।
आजै खैरहनी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट पठनपाठन गराउने दुुईजना शिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।
नगरपालिकाले शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत २०८० सालको वार्षिक परिक्षामा कक्षागत र विषयगत आधारमा उत्कृष्ट जिपिए ल्याउने शिक्षकलाई सम्मान गरेको हो । नगरपालिकाले जनजिवन माविकी प्रधानाध्यापक अन्जना आचार्य र राष्ट्रिय आधारभूत विद्यालय मगनीका शिक्षक प्रेमराज भुत्र्याललाई पुरस्कृत गरेको हो । शिक्षकरुहरुलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको खैरहनीका शिक्षा विकास अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए ।
पुरस्कारमा नियमअनुसार करकट्टी गरेर नगद हस्तान्तरण गरिएको उनले बताए । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले विद्यार्थी र शिक्षकलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले कार्यसम्पादनको आधारमा शिक्षकको समेत मूल्यांकन गर्दै पुरस्कृत गर्ने कार्यविधि नै निर्माण गरेर शिक्षकहरुको वर्गिकरण गरेर पुरस्कृत गर्ने नौलो थालनी खैरहनीले सुरु गरेको बताए ।
कार्यक्रममा बोल्दै खैरहनीकी उप प्रमुख कविता उप्रेतीेले शिक्षाको क्षेत्रमा पहिलाको भन्दा धेरै सुधार भएतापनि अपेक्षिकृत सुधार भने अझै नभएको बताइन् । उनले सबैको सहयोग र सकृयताले खैरहनीको शैक्षिक गुणस्तर सुधार गर्न सकिनेमा जोड दिइन् । खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले नगरपालिकाले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न गतिविधिहरु गरिरहेको बताए ।
उनले नगरपालिकाको एक्लो प्रयासले मात्रै शिक्षामा सुधार गर्न कठिन हुने भएकाले सबैपक्ष एकजुट भएर शैक्षिक गुणस्तर सुधार गर्न लाग्नुपर्ने बताए । कार्यक्रममा खैरहनी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रोहिणी प्रसाद उप्रेती , रामपुर कृषि क्याम्पसका प्रमुख कपिल काफ्ले , कंकाली माविका प्रधानाध्यापक शम्भु शंकर बर्तौला , डेजी बोर्डिङका प्राचार्य प्रेम रिमाल , नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी लगायतले शैक्षिक गुणस्तरमा सुधार ल्याउन सैद्धान्तिक संगै व्यवहारिक ज्ञानमा समेत जोड दिनुपर्ने बताए ।

























