खैरहनीका होटल तथा मिठाई पसलको अनुगमन, ३ वटालाई कारबाही
चितवन , १५ असोज । खैरहनी नगरपालिका क्षेत्रको केही होटल तथा मिठाई पसलको आज अनुगमन गरिएको छ । खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती नेतृत्वको टोलीले आज खैरहनीको आठवठा होटल तथा मिठाई पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा केहि होटल तथा मिठाई पसलको भान्छा फोहोर रहेको र फोहोर व्यवस्थापनमा खासै ध्यान नदिएको पाइएको थियो । उनीहरुले खाना तथा मिठाई तयार गर्ने स्थानमा फोहोर रहेको भेटेपछि अनुगमन टोलीले कारबाही गर्ने भएको हो । मानव स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पर्ने खाद्य वस्तुको उत्पादन , तयारी तथा विक्री वितरणमा आवश्यक मापदण्ड पुरा नगरेको भन्दै तिनवटा पसललाई कारबाही हुने भएको हो ।
यसअघिको अनुगमनको क्रममा समेत पटक पटक सरसफाईमा ध्यान दिन निर्देशन दिदाँ समेत अटेर गरेको देखिएकोले तिनवटा पसललाई कारबाहीसँगै सरसफाई गरेर मात्रै खाद्य वस्तु विक्री गर्न निर्देशन दिइएको खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् । अनुगमनको क्रममा सरसफाईमा लापरबाही गरेको भन्दै खैरहनी ८ को ऊँ गणेश मिष्ठान्न भण्डार , जम्काभेट रेष्टुरेन्ट र पहिलाको चौतारी भान्छा घर हालको मोटू भान्छा एण्ड खाजा घरलाई सरसफाईमा तत्काल सुधार गर्न निर्देशन दिइएको र उनीहरुलाई पाँच पाँचहजार रुपैयाँ जरिवाना तोकिएको उप प्रमुख उप्रेतीले बताइन् । पटक पटकको अनुगमनमा सरसफाईमा ध्यान दिन निर्देशन दिदाँ समेत अटेर गरेकाले जरिवाना सहित कारबाही गर्ने निर्णय गरेको उप प्रमुख उप्रेतीले बताइन् ।
अनुगमन गरिएका अन्य पसलहरुलाई समेत सरसफाईमा थप चनाखो हुन निर्देशन दिइएको छ । अनुगमनमा खैरहनी नगरपालिकाकी उप्र प्रमुख सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट खाद्य निरिक्षक सहितको टोली , उद्योग वाणिज्य संघ खैरहनीका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल , उद्योग संघ खैरहनीका अध्यक्ष युवराज पाठक र प्रहरी सहितको टोली खटिएको थियो ।