खैरहनिको सार्वजनिक सुनुवाइ ,टोल बिकासको जिम्मेवारी र सिंचाइ प्रमुख सवाल
चितवन, १४ मंसिर । खैरहनी नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बर्षमा तीन वटा सार्वजनिक सुनुवाइ गर्नुपर्ने ब्यबस्था अनुसार यो आर्थिक बर्षको पहिलो चौमासिकको कार्यक्रम खैरहनी वडा नम्बर १० मा आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले नगरपालिकाले पहिलो चौमासिकमा गरेका कार्य सम्पादन र बिषयगत शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विवरण प्रस्तुत गर्दै सापकोटाले पुजिगत तर्फ बार्षिक विनियोजन बजेट ५८ करोड १६ लाख ५६ हजार रहेकोमा यो चौमासिकमा ९ करोड ९७ लाख ७१ हजार रुपैयाँ खर्च भएको बताए । कार्यक्रम समन्वय संस्था चितवन स्टार मिडिया प्रालिको तर्फबाट नागरिक प्रतिबेदन प्रस्तुत भएको थियो । खुल्ला शत्रमा नगरबासिले विभिन्न जिज्ञासा ,प्रश्न ,सुझाब राखेका थिए ।
प्रश्नकर्ताले टोल बिकासलाई जिम्मेवारी नदिइएको ,कठारमा प्रहरी चौकी राख्नु पर्ने,सिचाइको लागि कुलोमा लाइनिङ र बोरिङ हुनुपर्ने ,सार्वजनिक सुनुवाइको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने ,रासायनिक मलको उचित ब्यबस्थापन हुनुपर्ने ,अनुगमन छिटो हुनु पर्ने लगायत बिषय उठान गरेका थिए । सहभागीहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख शशी कुमार खनियाले स्थानीय तहले आफ्नो श्रोत ,साधन अनुसार नगरबासिको आयआर्जन देखि पुर्वाधार निर्माणको काम भईरहेको बताए ।
स्थानीय तहको क्षेत्राधिकार र क्षमता अनुसार सबै जनप्रतिनिधि एक जुट भएर काम गरेका छौ,प्रमुख खनियाले भने – आफुहरुको अहिलेसम्मको कार्यकालमा नराम्रो गरेका छैनौ,राम्रो गर्ने प्रयास भईरहेका छन् ,हामी नगरबासी प्रति उत्तरदायी छौ । प्रमुख खनियाले आवश्यकताका आधारमा किसानलाई अनुदान उपलब्ध गराईएको भन्दै पुर्वाधार निर्माण संगै कृषि र पशुपालनमा बजेट ,कार्यक्रम संचालन गरिरहेको बताए ।
भिडियो