खैरहनी महोत्सवमा टिकटक च्यालेन्ज,उत्कृष्ट टिकटक बनाए १० हजार पुरस्कार
चितवन, २८ मंसिर । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा हुन लागेको महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेहरुलाई पुरस्कार दिइने भएको छ । संघको आयोजनामा यहि पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव हुदैछ । महोत्सव अबधिभर महोत्सव परिसरमा उत्कृष्ट टिकटक बनाउने तीन जनालाई नगद पुरस्कार प्रदान गरिने उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । टिकटक बनाएका मध्य तीन जनालाई प्रथम ,द्वितीय र तृतीय छुट्याएर क्रमशः १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक खनालले बताए ।
महोत्सवलाई थप आकर्षक बनाउन केही योजना ल्याएको संघका अध्यक्ष खनालले भने- टिकटम च्यालेन्जमा सहभागीले महोत्सव सकिनु अघिल्लो दिन पुस १५ गते सम्म महोत्सव परिसरमा टिकटक बनाउनु पर्नेछ,उत्कृष्ट हुनेहरुलाई पुरस्कारको ब्यबस्था गरेका छौं । टिकटकरले महोत्सवकै गितमा टिकटक बनाएर उद्योग बाणिज्य संघ खैरहनिको आधिकारिक पेजमा ट्याग गर्नु पर्ने नियम राखेको छ ।
महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनिले महोत्सवमा टिकट काटेमा मौलाकालिका केवलकारमा र म्याङ्गो जनज्योति हल पर्सामा समान ५० प्रतिशत छुटको ब्यबस्था समेत गरेको छ । यस पटकको महोत्सवमा जिप लाइन,महिला कुस्ती ,बोटिङ लगायतका गतिविधि पनि समाबेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । लदरी खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


















