आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउंदै ,सामाजिक बिकास मन्त्री आउने
चितवन, १३ पौष । खैरहनी नगरपालिका वडा नम्बर ११ मा रहेको आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउने भएको छ । पुस १६ र १७ गते विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वर्ण जयन्ती सफल बनाउन मुल समिति सहित विभिन्न उपसमितिहरु गठन गरि काम भईरहेको छ ।
पत्रकार सम्मेलनमा स्वर्ण जयन्ती मुल समारोह समितीका संयोजक गोकर्ण पाण्डेले पुस १६ गते खुल्ला रक्तदान कार्यक्रम र नगरस्तरिय आधारभूत तह निबन्ध लेखन तथा चित्रकला प्रतियोगिता गरिने बताए । पुस १७ गते शोभायात्रा तथा भेषभुषा प्रदर्शनी ,औपचारिक समुद्घाटन समारोह ,शालिक अनावरण ,स्वर्णस्मारिका बिमोचन र सम्मान कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको संयोजक पाण्डेले बताए ।
उनका अनुसार पुस १६ गतेको कार्यक्रममा नगर प्रमुख शशी कुमार खनिया तथा पुस १७ गतेको कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री हरिप्रभा खड्गिको प्रमुख आतिथ्यतामा हुनेछ ।
पत्रकार सम्मेलनमा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष पुस्कल पाण्डेले मर्ज हुन लागेको विद्यालयलाई समुदायकै पहलमा स्वर्ण जयन्ती मनाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताए ।
विद्यालयका प्रधानाध्यापक शिव प्रसाद अर्यालले समुदाय ,ब्यबस्थापन समिति ,शिक्षक एकजुट ,लगनशिल र प्रतिबद्ध भए सुधार गर्न सकिन्छ भन्ने उदाहरण यो विद्यालय रहेको बताए । दाताहरुको सहयोगले नै विद्यालय संचालन गर्नुपर्ने बाध्यता रहेको अर्यालले बताए ।