खैरहनी नगरपालिकाले घटायो १ करोड १० लाख प्रशासनिक खर्च
चितवन, १९ पौष । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौं नगरसभाले चालु खर्चतर्फ एक करोड दश लाख रुपैयाँ बजेट घटाएको हो।
नगरप्रमुख शशीकुमार खनियाले चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको जानकारी गराए। खैरहनी नगरसभाको १५ औँ अधिवेशनबाट स्वीकृत नीति तथा कार्यक्रममा विनियोजित वजेटहरुमा, कुनै योजना तथा कार्यक्रममा आर्थिक कार्यविधि अनुसार कार्यान्वयन गर्न समय लाग्ने, कुनै वहुवर्षिय योजना अन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकम कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको तथा केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकोले विनियोजन ऐन २०८१ संसोधन गर्ने विधेयक सभामा प्रस्तुत भएको नगर प्रमुख शशी कुमार खनियाले बताएका छन् ।
चालु आवको असार महिनामा सम्पन्न पन्ध्रौ नगरसभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च र विषयगत चालु कार्यक्रमको व्यय अनुमान रु २५ करोड ९९ लाख विनियोजन गरेकोमा सोह्रौ नगरसभाले सो अनुमानित बजेट घटाएर रु २४ करोड ८९ लाख कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताइन् ।
नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगर वाङ्मय परिषद् विधेयक २०८१ र सार्वजनिक निजी साझेदारी विधेयक २०८१ पारित गर्ने निर्णय भएको बताएका छन् ।