पर्सा खानेपानीको २१ औं साधारणसभा , विभिन्न व्यक्तिहरुलाई सम्मान, फाल्गुनमा निर्वाचन हुने
चितवन, २० पौष । पुर्वी चितवनको खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भएको संस्थाको साधारणसभाले संस्थाको छैटौं अधिवेशन अन्तर्गत फाल्गुन ३ गते निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचन प्रक्रियाको लागि शेषशंकर उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको संस्थाको सचीव अशोक रैलाले जानकारी दिए । समितिको सदस्यहरूमा नविनराज रुवाली र दिपेन्द्र चौधरी रहेका छन् ।
साधारणसभामा संस्थाका अध्यक्ष गणेश बर्तौलाले २०८१/८२ को नीति तथा कार्यक्रमहरु , सचीव अशोक रैलाले आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्याम कुमार पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ६५ लाख आम्दानी गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष पाठकले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा थप ३५० थप धारा जडान गरि जम्मा ५ हजार ६ सय १० धारा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
साधारणसभामा सरसफाईतर्फ उत्कृष्ट तीन विद्यालयलाई नगद सहित सम्मान गरिएको छ । सरसफाईमा प्रथम भएको राष्ट्रिय आधारभूत विद्यालय वैरहनीलाई नगद १० हजार , द्वितीय भएको खैरहनी माध्यमिक विद्यालयलाई नगद ७ हजार र तृतीय भएको राष्ट्रिय आधारभूत विद्यालय सलौलीलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । उक्त विद्यालयलाई दुईदुई थान डस्ट्विन समेत वितरण गरिएको छ । साधारणसभाको अवसरमा १० जना छात्रछात्राहरुलाई स्टेसनरी प्रदान गरिएको छ ।
त्यस्तै संस्थाका तिनजना कर्मचारीलाई समेत नगद सहित सम्मान गरिएको छ । संस्थाका प्रवन्धक शंकरदेव चौधरी , लेखापाल जानकी रिमाल र प्राविधिक खेदुराम महतोलाई सम्मान गरिएको संस्थाका सचिव अशोक रैलाले बताए । सो अवसरमा संस्थाको आयोजना क्षेत्रको ८ वटा वडाका एक एकजना जेष्ठ नागरिकलाई समेत नगदसहित सम्मान गरिएको थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेस खैरहनी नगरसमितीका सभापति गुणराज श्रेष्ठ , नेकपा एमालेका भरत भण्डारी , नेकपा माओवादीका नगर अध्यक्ष रामेश्वर पोखरेल , राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनीका सभापति राज सिलवाल , राप्रपा खैरहनी नगरसमिती अध्यक्ष देवराज कंडेल , संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय भरतपुरका इन्जिनियर चिरञ्जीवी सेढाई लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलिले खानेपानीलाई राज्यले वेवास्ता गरेको बताए । उनले जनताले खानेपानी पुर्याउन अति आवश्यक रहेको विद्युत महशुलमा सरकारले छुट दिनुपर्ने माग गरे । मौलिक अधिकारको रुपमा रहेको स्वाच्छ खानेपानी पिउन पाउने नागरिकको अधिकारमा सरकार सम्वेदनशिल नभएको उनले गुनासो गरे ।
छुट दिनुपर्ने खानेपानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने तयारी गरेको भन्दै अध्यक्ष ओलिले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए । संस्थाका अध्यक्ष गणेश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश रुपाखेतीले स्वागत मन्तव्य राखेका थिए ।