खैरहनीमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने
चितवन , ०२ माघ । खैरहनीका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । माघ २२ गतेदेखी २८ गतेसम्म अभियानको रुपमा किशोरीहरुलाई खोप दिइने भएको हो । खैरहनीमा आज आयोजित एच पि भी खोप अभियान २०८१ को पालिका स्तरिय खोप समन्वय समितिको वैठक तथा संचारकर्मीहरुको अभिमूखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले दुई हजार ७ सय ८९ जनालाई खोप दिने तयारी रहेको बताए ।
कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच पि भी ) खोप अभियान २०८१ संचालन गरिने खैरहनीका स्वास्थ्य शाखा प्रमुख खनालले बताए । खोप अभियानमा २९ वटा विद्यालय र १३ वटा स्वास्थ्य संस्थामा खोप अभियान संचालन हुनेछ । उक्त अभियानमा ४४ जना खोप कार्यकर्ता र ८८ जना स्वयम्सेवक खटिने छन् ।
विद्यालय बाहिर रहेका १० बर्ष उमेरका किशोरीहरुलाई खोप दिइने छ । यसपश्चात् उक्त खोपलाई नियमित खोपमा समावेश गर्दै प्रत्येक बर्ष फागुन महिनामा कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरुलाई खोप दिइने जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए । खोप निशुल्क रुपमा दिइने र खोप सुरक्षित भएकाले सबै लक्षित वर्गका किशोरीहरुलाई खोप लगाउन उनले आग्रह गरे ।
उक्त कार्यक्रममा बोल्दै खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले सबैको सक्रियतामा लक्षित उमेरका कोहिपनि नछुट्ने गरि अभियान संचालन गर्नुपर्नेमा जोड दिए । लक्षित उमेरका किशोरीहरुलाई जनप्रतिनिधि , टोल विकास संस्थाका प्रतिनिधि , शिक्षकहरुको सहयोगमा खोपको सुनिश्चिता एकिन गर्न समेत नगर प्रमुखले आग्रह गरे ।
पछिल्लो समय पाठेघरको मुखको क्यान्सरको भएका विरामीको संख्या वृद्धि भइरहेको अवस्थामा यस खोपले आगामी दिनमा त्यस्ता विरामीको संख्यामा उल्लेख्य कमी आउनेमा आशावादी रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटा , नगर शिक्षा अधिकारी राजु वानिया र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।