खैरहनी २ मा युवाहरुलाई वारिष्टा तालिम
चितवन, ११ माघ । खैरहनी नगरपालिका वडा नम्बर २ ले युुवाहरुलाई सिपमुलक तालिम संचालनमा ल्याएको छ । सिपमुलक तालिम अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर २ ले युवाहरुलाई कफि बनाउने (वारिष्टा) तालिम सुरु गरेको हो । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख खनियाँले युुवाहरुलाई सिपमुलक तालिमको आवश्यकता महसुस गरेर वडा तथा नगरले विभिन्न तालिलहरु संचालन गरेको बताए ।
पछिल्लो समय युवाहरु वैदेशिक रोजगारमा जान बढि प्रेरित हुने गरेको तर सिप नहुँदा दुःख पाइरहेको अवस्थामा सिप सिकेर आफ्नै देशमा काम गर्न सकिने र वैदेशिक रोजगारमा जानै पर्ने बाध्यता भए पनि आफूमा सिप र ज्ञान भए सहज हुने उनले बताए । उनले बजेट सक्नको लागि मात्रै तालिम गर्ने परिपाटी खैरहनीमा नरहेको भन्दै कडाईको साथ अनुुगमन हुने स्पष्ट पारे । तालिमबाट पश्चात् सामुुहिक रुपमा व्यवसाय गर्न ईच्छुक युुवाहरुलाई नगरपालिकाले विउ पुँजी समेत प्रदान गरिरहेको नगर प्रमुख खनियाँले बताए ।
खैरहनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले युवाहरुलाई सिप सिकाएर व्यवसायिक बनाउन तालिम राखिएको बताए । ठूला होटल र तालिम केन्द्रसम्म पुुगेर तालिम लिन आर्थिक रुपमा र दुरीको कारण समेत समस्यामा परेका वडाभित्रका युवाहरुलाई वडा कार्यालयको लगानीमा वडाकै सभाहलमा तालिमको व्यवस्था मिलाएको उनले बताए ।
३० दिनसम्म संचालन हुने तालिममा वडाभित्रका २५ जना युुवाहरुलाई समावेश गरिएको वडा अध्यक्ष उप्रेतीले बताए । ३० दिनमै सबै पूर्ण नहुने भन्दै यो तालिम पहिलो खुट्किलो बन्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले अनुशासित र लगनशिल भएर तिलमको सदुपयोग गर्न आग्रह गरे । तालिमको भूमिका टेक्निकल सर्भिस प्रा.लिले सहजिकरण गरेको छ ।

























