एड्वानद्वारा खैरहनीमा महिलाहरुलाई नेतृत्व विकास तालिम
चितवन, २२ चैत । सामाजिक ,आर्थिक रुपान्तरणका लागि खैरहनी नगरपालिका वडा नम्बर १२ का महिलाहरुलाई नेतृत्व बिकास तालिम दिइएको छ । यो तालिम पछि उनिहरुको आवश्यकता र चाहाना अनुसार ब्यवसायिक तालिम दिइने आयोजक नेपाल दलित महिला उत्थान संघ ( एड्वान) ले जनाएको छ ।
नेतृत्व बिकास संगै आयआर्जनमा जोड्दै सामाजिक रुपान्तरण गर्ने उदेश्य रहेको संस्थाकी अध्यक्ष बिन्दु थापा परियारले जानकारी दिइन् । पहिलो चरणमा आयोजित नेतृत्व बिकास तालिमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । वडा नम्बर १२ को कार्यालयमा आयोजित तालिमको खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
संस्थाकी अध्यक्ष परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेती ,वडा अध्यक्ष केदारनाथ पन्त,कार्यपालिका सदस्य दुखिराम दराई,वडा सदस्यहरु,तालिममा सहभागी ३० जना महिलाहरु उपस्थित थिए । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियांले नेतृत्व बिकास गराउंदै आयआर्जनमा जोड्ने कार्यक्रम रहेकाले यसमा नगरपालिकाले सहकार्य गर्ने बताए । तालिम दिने,लिने चलन मात्र रहेको आफुले पाएको भन्दै उनले सीप बिकास तालिम पछि बीउ पुंजी दिएर ब्यबसायनै संचालन गर्न सक्ने बनाएको बताए ।
उपप्रमुख कविता उप्रेतीले पितृ सतात्मक सोच अझै रहेको भन्दै सामाजिक रुपान्तरणका लागि यस्ता सोच त्याग्नु पर्ने बताइन् । पितृ सतात्मक सोचकै कारण महिलाको बिकास हुन सकेको छैन,उपप्रमुख उप्रेतीले भनिन् – परिवर्तनका लागि यस्ता सोच विरुद्ध लाग्नुपर्छ ,तब मात्र हरेक क्षेत्रमा महिलाले नेतृत्व गर्न सक्छन् ,रुपान्तरण हुन्छ ।
खैरहनी १२ का वडा अध्यक्ष केदारनाथ पन्तले गरिव,पिछडिएको समुदायलाई छनौट गरि आफ्नो वडामा कार्यक्रम राखेकोमा धन्यवाद दिए ।
१५/१५ जनालाई दुई वटा समूह बनाएर तालिम प्रदान गरिएको थियो । सोही समुहको आवश्यकता र चाहाना अनुसार ब्यवसायिक तालिम प्रदान गरि बीउ पुंजी पनि उपलब्ध गराईने एड्वानकी सामाजिक सहजकर्ता सुनिता दराईले जानकारी दिइन् ।