नयाँ बर्षमा कठार फुड फेस्टिवल हुँदै
चितवन, २९ चैत । चौथो कठार फुड फेस्टिवल यहि चैतको ३१ गतेदेखि सुरु हुदैछ । कठार पर्यटन बिकास समितिको आयोजनामा चैत ३१ गते सुरु भई बैशाख २ गतेसम्म फेस्टिवल हुन लागेको हो । खैरहनी नगरपालिका वडा नं. १० कठार मा.वि. खेलमैदानमा आयोजना गरिन लागेको आयोजक कठार पर्यटन बिकास समितिले जनाएको छ । फेस्टिवल उद्घाटन पुर्व कला संस्कृति झल्कने भेसभुषा, झाँकी सहित खैरहनी न.पा. १० वडा कार्यालयको प्राङगढबाट कठार बजार र स्कुल हुँदै कार्यक्रम स्थलमा प्रवेश गर्नेछ ।
फेस्टिवलका संयोजक एवं कठार पर्यटन बिकास समितिका अध्यक्ष लिलाराज गुरुङका अनुसार पर्यटकीय गतिविधिलाई प्रोत्साहन गर्न, होटल एवम् होमस्टेहरुमा आन्तरिक तथा वाह्रय पर्यटन भित्र्याई व्यवसायको प्रबर्द्धन गर्न, कृषि उत्पादन जस्तैः मह दुध, दही, मोही, स्थानीय स्तरमा उत्पादन भएका फलफुलहरुको बजारीकरण एवम् प्रचार प्रसार गर्न,विभिन्न जातजातिको परम्परागत खानाको परिकारको उजागर गर्ने उदेश्यले फेस्टिवल आयोजना गरिएको हो । त्यस्तै जातजातीको कला संस्कृतिका साथै लोपोन्मुख संस्कृतिहरुको समेत जगेर्ना गर्न, सामुदायिक वनमा जीप सफारी, हाति सफारी, पैदल मार्गको प्रचार प्रसार गर्नविभिन्न खेलकुद प्रतियोगिता लगायत बौद्धिक विमर्शहरु आयोजना गर्न,धार्मिक पर्यटनको प्रवर्द्धन गर्न,संस्कृति र खानेकुराको प्रबर्द्धन गर्न नयाँ बर्षको अवसर पारेर फेस्टिवल आयोजना गरिएको संयोजक गुरुङले बताए ।
यहाँ २०६७ सालमा पहिलो पटक फुड फेस्टिवल आयोजना गरिएको थियो । त्यसपछि पर्यटन बिकास समिति आधिकारिक रूपमा दर्ता भएपछ २०७९ सालयता लगातार कार्यक्रम आयोजना गरिदै आएको छ । फेस्टिवल उद्घाटन अघि सो दिन बिहान १० किलोमीटरको साइकल दौड प्रतियोगिता आयोजना गरिनेछ । फेस्टिवलका आर्थिक समिति संयोजक मनोज चौधरीका अनुसार फेस्टिवल संचालन गर्न २१ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने र त्यसबाट २ लाख ७० हजार बचत हुने आशा गरिएको छ । २० वटा स्टल रहने फेस्टिवलमा चौधरी समुदायका खानाका परिकारको स्वाद चाख्न पाइनेछ । दोस्रो दिन अर्थात नयाँ बर्षको दिन १०० रुपैयाँ टिकट र तेस्रो दिन अर्थात बैशाख २ गते ५० रुपैयाँ टिकट लाग्ने संयोजक गुरुङले बताए ।
पत्रकार सम्मेलनमा खैरहनी १० का वडा अध्यक्ष चन्द्रबिक्रम चौधरीले पर्यटन गतिविधि बढाउन,स्थानीय कला संस्कृति ,खानाको प्रबर्द्धन गर्न फेस्टिवल कोशेढुंगा सावित हुने बताए । वडा अध्यक्ष चौधरीले फेस्टिवलका कारण यो ठाउँको प्रचार हुने भन्दै ५ धार्मिक देविथानको मन्दिर, इतिहास जोडिएको मुहान चिसापानी ताल,नागदह,भसामाडी,टावर,जनावर हेर्न पाइने भएकाले फेस्टिवलले त्यस ठाउँको समेत अवलोकन गर्न पाइने बताए । पर्यटन बिकास समिति सचिव बिक्रम चौधरीले पहिलो ,दोस्रो ,तेस्रो भन्दा चौथो फेस्टिवललाई विशेष बनाउन टिकटको ब्यबस्था गरिएको र सुरक्षाको पनि उचित प्रबन्ध गरिएको बताए । फेस्टिवलमा चर्चित कलाकार ज्योति मगरदेखिका रास्ट्रिय,स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।