खैरहनी नगरपालिकामा सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम, विभिन्न वडामा अभिमुखीकरण
चितवन, ०४ असार । चितवनको खैरहनी नगरपालिकामा वैदेशिक रोजगारसंग सम्बन्धीत सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम संचालनमा आएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टर अपरेशन्सको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन सामी’ परियोजना अन्तर्गत खैरहनी नगरपालिकामा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुलाई समुदायस्तरमा गएर सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
खैरहनी नगरपालिकाका नगर प्रमुख , उप प्रमुख , वडा अध्यक्षहरु , जनप्रतिनिधि , कर्मचारी , प्रहरी तथा सरोकारवालाहरुको उपस्थितिमा नगरस्तरीय अभिमुखिकरणसंगै खैरहनीमा सामी कार्यक्रम सुरु भएको थियो । उक्त कार्यक्रमको वैदेशिक रोजगार बार्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले सहजिकरण गरेका थिए । खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले नेपालबाट वैदेशिक रोजगारीमा जाने प्रचलन अधिक रहेको परिपेक्षमा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन पालिका तथा वडास्तरबाट नै सहि सूचना प्रदान गर्ने परिपाटी तयार गर्नुपर्ने र सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने विषयलाई जन जनमा पुर्याउन आवश्यक रहेको बताए । उनले यसै आर्थिक वर्षबाट वैदेशिक रोजगारी वा अन्य कारणबाट समस्यामा परेका व्यक्तिहरुलाई लक्षित गरी मनोसामाजिक परामर्श उपलब्ध गराउन मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरेको समेत बताए ।
नगरस्तरिय कार्यक्रम पश्चात् विभिन्न वडामा कार्यक्रम संचालन गरिएको खैरहनी नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए । खैरहनीको रुपमा वडा नं. १, २, ३, ४, ९, १०, ११ र १२ गरी ८ वटा वडामा वैदेशिक रोजगार संग सम्बन्धि व्यक्तिहरुको सक्रिय सहभागितामा समुदाय स्तरमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम भएको पौडेलले बताए । अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारीमा जानु भन्दा पहिला के गर्ने, वैदेशिक रोजगारीमा समस्या परेमा के गर्ने तथा कहाँ सम्पर्क गर्ने, वैदेशिक रोजगारीमा रहेका परिवारलाई परेका समस्याको बारेमा मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता प्रदान कसरि गर्ने एंव नेपाल सरकारले प्रदान गर्ने कल्याणकारी सेवाहरु कसरी प्राप्त गर्ने भन्ने सम्वन्धमा सहजिकरण गरिएको छ ।
























