खैरहनीले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट
चितवन, १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्ब ३ करोड बढीको अनुमानित बजेट ल्याएको छ । नगरको आज भएको १७ औं नगरसभाले आगामी बर्षको लागि १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३५० को अनुमानित बजेट ल्याएको छ । नगरकी उप प्रमुख कविता उप्रेतीले नगरसभामा प्रस्तुुत गरेको बजेट आजै सर्वसम्मत रुपमा पारित भएको हो । सभामा खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । निति कार्यक्रममा नगरपालिकाले भौतिक पुर्वाधारसँगै कृषि , शिक्षा , स्वास्थ्य र रोजगार सृजनालाई प्राथमिकता दिएको छ ।
कुल बजेटको करिब ४८ प्रतिशत चालुतर्फ र ५२ प्रतिशत पुुँजीगतर्फ खर्च हुने अनुमान गरिएको छ । चालु खर्चतर्फ ५० करोड १ लाख ४८ हजार र पुुँजीगतर्फ ५३ करोड ८३ लाख ६५ हजार खर्च हुने अनुुमान गरिएको छ । नगरपालिकाले १९ करोड ८० लाख ५० हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारबाट सशर्त अनुदान २६ करोड ४४ लाख , समानिकरण अनुदान १५ करोड ५४ लाख , बाँडफाँडबाट १२ करोड ३८ लाख ५३ हजार १ रुपैया , संरक्षित वन रोयल्टीबाट ७८ लाख ४० हजार १४० , विशेष अनुदान ५ करोड १० लाख , समपूरक अनुदान ३ करोड २४ लाख प्राप्त हुने अनुमान रहेको छ ।
प्रदेश सरकारबाट सशर्त अनुदान ३ करोड १४ लाख १० हजार , समानीकरण अनुदान १ करोड ६३ लाख ७६ अजार , बाँडफाँड भई आउने सवारी साधन करबाट ७ करोड १८ लाख २ हजार २०९ , समपूरक अनुदान २ करोड २२ लाख , विशेष अनुदान ६५ लाख , सडक बोर्ड नेपालबाट आउने ५० हजार , लागत सहभागीताबाट ५० लाख रुपैयाँ संकलन हुने र चालु बर्षको अन्तिममा बैंक मौज्दात ४ करोड ४५० लाख गरि नगरपालिकाको अनुमान रहेको छ । नगरपालिकाको कुल बजेटबाट १२ करोड ३० लाख रुपैयाँ प्रशासनिक खर्च हुने अनुमान गरेको छ ।

























