खैरहनीमा प्याराफिटसहितको कवर्ड हल शिलान्यास
चितवन, ३० साउन । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित जमौलीमा कवर्ड हलको शिलान्यास भएको छ । खैरहनी नगरपालिकाको लगानीमा निर्माण हुन लागेको कवर्ड हलको आज शिलान्यास गरिएको हो । खैरहनी नगरपालिकाको लगानीमा निर्माण हुन लागेको कवर्ड हलको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया र उप प्रमुख कविता उप्रेतीले शिलान्यास गरेका हुन् ।
१ करोड ९६ लाखको लागतमा निर्माण हुन लागेको कवर्ड हल चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढेको नगर प्रमुख शशी कुमार खनियाले बताए । प्याराफिट सहित आधुनिक सुविधा सम्पन्न कवर्ड हलमा तेक्वान्दो , भलिबल , व्याडमिन्टन लगायतको विभिन्न खेल खेल्न मिल्ने उनले बताए ।
कवर्ड हल निर्माण पछि खेलाडीहरुलाई खेल खेल्न सहज हुने, खेल सिक्ने वातावरण सहज हुने र नगरको एउटा गहनाको थप हुने विश्वास व्यक्त गरे । ५ सय ७ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने कवर्ड हलमा दुईवटा ठूलो हल हुने खैरहनी नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर कृष्ण प्रसाद उपाध्यायले जानकारी दिए ।
दर्शक बस्नमिल्ने प्याराफिट, कार्यक्रम संचालक गर्न मंच, खेलाडीलाई चेन्जिङ कोठा लगायत सबै सेवा सहितको सुविधासम्पन्न कवर्ड हल निर्माण हुने उपाध्यायले बताए । शिलान्यास कार्यक्रममा खैरहनीका वडा अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियोे ।





















