सौराहामा थपियो अर्को होटल : रोयल जंगल भिल्लज सञ्चालन
चितवन, १२ भाद्र । चितवनको पर्यटकीय नगरी सौराहामा स्तरीय होटलहरु थपिनेक्रम जारी रहेको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा पुराना व्यवसायीहरुले होटलको स्तारोन्नती गरेका छन् भने जिल्ला बाहिरबाट आएका व्यवसायीहरुले पनि स्तरीय होटल सञ्चालन गर्न थालेका छन् । यसैक्रममा रत्ननगरका पर्यटन व्यवसायी माधव भट्टराईले ३५ करोडको लगानीमा स्तरीय होटल सञ्चालनमा ल्याएका छन् । भट्राईले सञ्चालनमा ल्याएको रोयल जंगल भिल्लजमा २७ वटा रुम, आर्कषक गार्डेन रहेको र होटलबाटै राप्ती नदी र निकुञ्ज हेर्न सकिन्छ ।
होटलमा ५ हजार ५०० देखि १० हजार ५०० सम्मका स्तरीय रुपहरु उपलब्ध रहेको प्रबन्ध निर्देशक साकार भट्टराईले जानकारी दिए । होटलले करिब ५० जनालाई रोजगारी दिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक भट्टराईले बताए । नयाँ होटलले सौराहाको पर्यटकीय गन्तव्यको आकर्षणलाई अझ प्रबद्र्धन गर्ने विश्वास गरिएको छ । भिल्लजमा उच्चस्तरीय सुविधा, अतिथिको सहज आवास, सम्मेलन तथा मनोरञ्जनका लागि अत्याधुनिक पूर्वाधारको व्यवस्था गरिएको भट्टराईले बताए ।
प्रबन्ध निर्देशक भट्टराईले भिल्लजमार्फत चितवन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय रोजगारीको अवसर पनि सिर्जना गर्ने बताए । हाम्रो उद्देश्य केवल होटल सञ्चालन मात्र होइन उनले भने यहाँको संस्कृति, प्राकृतिक सम्पदा र आतिथ्यलाई प्रवद्र्धन गर्ने हो । चितवनको पर्यटन क्षेत्रमा नयाँ सुविधा सहित होटल सञ्चालनमा ल्याएको भन्दै भट्टराईले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने बताए ।
उक्त होटलको बुधबार प्रिउद्घाटन गरिएको छ । कार्यक्रममा वडाध्यक्षहरु किरण महतो, सजना महतो, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकास पाण्डे, रेवानका अध्यक्ष ध्रुव गिरी, पुराना राजनीति व्यक्तित्व नन्दप्रसाद भट्टराई उपस्थित थिए ।






















