खैरहनीमा मानव बेचबिखन विरुद्ध सचेतना मुलक कार्यक्रम
चितवन, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं रास्ट्रिय दिवसको अवसरमा खैरहनी नगरपालिकाले शुक्रबार अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको सो कार्यक्रम नगर प्रमुख शशी कुमार खनियाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगर भित्र रहेका महिला सहकारी ,संस्थाका प्रतिनिधि सहभागी थिए ।
सो अवसरमा बोल्दै नगर प्रमुख खनियाले अभाव,गरिबी,अशिक्षाका कारण बेचबिखन हुने हुंदा सचेतना मुलक कार्यक्रम गर्नुपर्ने बताए । बाहिरी रूपमा यस्ता घटना नदेखिए पनि भित्र भित्र झुक्काएर यस्ता काम भईरहने सक्ने उनले औल्याए । विभिन्न तरिकाले बेचबिखनका घटना हुने गर्छ,प्रमुख खनियाले भने – ललाईफकाई,झुक्काएर त्यस्ता कार्य हुन्छन्, यस्मा सचेत हुन जरुरी छ ।
स्वागत मन्तव्य राख्दै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्णकुमारी गुरुङले प्रत्येक बर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिदै आएको उल्लेख गर्दै गरिव,पिछडिएको समुदायमा अझ बढी सजगता अपनाउनुपर्ने बताइन् । कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले वैदेशिक रोजगार, अधिवक्ता एवं नगरपालिकाका न्यायीक सहजकर्ता संजय चौधरीले कानुनी ब्यबस्था र ईलाका प्रहरी कार्यालय खैरहनीका वरिष्ठ प्रहरी नायव निरीक्षक मोतिराज शर्माले मानव बेचबिखन,दण्ड सजायका बारे अभिमुखिकरण गराएका थिए ।

























