ग्लो साइनका विद्यार्थीहरूद्वारा फरक क्षमता भएका बालबालिकाहरुलाई कपडा वितरण
चितवन, ३१ भाद्र । चितवनको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई कपडा वितरण गरेका छन् । खैरहनी ८ पर्सामा रहेको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले आफ्नो फजुल खर्च कटौती गरी खैरहनी ९ स्थित राष्ट्रिय आधारभूत विद्यालय, बस्यौली का बौद्धिक अपांगता (फरक क्षमता) भएका विद्यार्थीहरूलाई नयाँ कपडा वितरण गरेका हुन् ।
दशैलाई मध्यनजर गर्दै ग्लो साइनका विद्यार्थीहरुले बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई सहयोग गरेको ग्लो साइनका प्रिन्सिपल टेक राज अधिकारीले जानकारी दिए । आफ्ना विद्यार्थीहरूको कार्यको प्रशंसा गर्दै अधिकारीले “भविष्यमा अझ धेरै सहयोग गर्न सक्ने वातावरण निर्माण होस्” भन्ने धारणा व्यक्त गरे । उनले विद्यालयका अभिभावक संघका अध्यक्ष शान्तमणि नाहर्की तथा विद्यालयका सेकण्डरी ब्लक हेड केदार बहादुर शिवाकोटीको समन्वयमा सहयोग कार्यक्रम गरिएको प्रधानाध्यापक अधिकारीले बताए ।
कार्यक्रममा श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले सहयोग गर्ने ग्लो साइनका विद्यार्थीहरुलाई सहयोगका लागि आभार व्यक्त गरे । विद्यालयका विद्यार्थीहरूले देखाएको सामाजिक उत्तरदायित्व र सहयोगी भावनाले यस वर्षको दशैंलाई अझ अर्थपूर्ण बनाएको उनले बताए ।



















