भरतपुरमा खुल्यो लर्डस् होटल र सेल्सबेरी सपिङसहितको सिविसी प्लाजा
चितवन, ०६ असोज । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा होटल लर्डस् सञ्चालनमा आएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रालि (सिविसी)ले अन्तर्राष्ट्रिय ब्राण्डको होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रालिले हाटेलसँगै सोही भवनबाट थप रु २५ करोड लागतमा सेल्सबेरी सपिङ सेन्टरसमेत सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दिनुप बरालले जानकारी दिनुभयो । आठ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलको भवन संरचना एक लाख सात हजार बर्ग फिट क्षेत्रफलमा रहेको बरालको भनाइ छ ।
दुई तला अण्डरग्राउण्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अण्डरग्राउण्ड दुई तलामा पार्किङ, त्यसपछि तीन तलामा सेल्सबेरी सपिङ सेन्टर र बाँकी छ वटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त लर्डस् हस्पिटालिटीको व्यवस्थापन रहने गरी सञ्चालनमा ल्याइएको होटलको अमेरिका, भारत, नेपाल लगायतका विभिन्न देशहरुमा चेन होटल सञ्चालनमा रहेको बरालले बताउनुभयो । ‘होटलमा विभिन्न मूल्यका ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एउटा, स्वीट तीन वटा, सुपर डिलक्स १० वटा, प्रिमियम १५ वटा र बाँकी स्टान्डर्ड कोठा रहेका छन्’ उहाँले भन्नुभयो, ‘हामीकहाँ एकदिनको पाँच हजार पाँच सय रुपैयाँ २४ हजार रुपैयाँसम्म पर्ने कोठाहरु उपलब्ध रहेका छन् ।’
नेपालीहरुको महान् चाड दसैँको घटस्थापनासँगै सञ्चालनमा आएको होटल शुभारम्भको अवसरमा सन् २०२५ भरी नै २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बरालले जानकारी दिनुभयो । होटलमा पाँच सय जना क्षमताको सभा कक्ष, एक सय जना क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो, ‘रेष्टुरेन्टमा बाहिर र भित्र गरी एकैपटकमा एक सय २५ जनाले सँगै बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।’ भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, कम्प्लेक्सको तीन वटा तलामा सेल्सबेरीको ३८ औं शाखा सञ्चालनमा आएको उहाँले बताउनुभयो । ‘ग्रोसरी, हाउसवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर)लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा उपलब्ध रहेका छन् ।’ कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाइ थियो । सेल्सबेरीमा किनमेल गर्दा दसैँ तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बरालले जानकारी दिनुभयो ।
भवनको अण्डरग्राउण्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै बरालले पार्किङमा एकसाथ चार पाङ्ग्रे (कार) ८० वटा र दुई पाङ्ग्रे (मोटरसाईकल स्कुटर) दुई सय वटा पार्किङ गर्न सकिने बताउनुभयो । तीव्र गतिमा विकास भइरहेको चितवनमा समयसापेक्ष व्यवसाय विस्तार गर्ने क्रममा यसमा लगानी गरिएको उहाँको भनाइ छ । आम उपभोक्ताको ‘सपिङ्ग कल्चर’लाई मध्यनजर गर्दै उनीहरुकै चाहना अनुरुपको सेवा सुविधा विस्तार गर्दै लैजाने योजना कम्पनीको रहेको बरालले बताउनुभयो ।



















