भरतपुर–श्रीपुरमा प्राङ्गारिक सूर्यमुखीखेती, फूलले पर्यटन प्रवद्र्धनमा योगदान
चितवन, १८ मंसिर । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती गरेका छन्। अधिकारीका अनुसार, दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना र तेलको उच्च माग देखिएको थियो। साथै, बाली चक्र प्रणालीअनुसार सूर्यमुखी यस क्षेत्रमा उपयुक्त भएकोले यस वर्ष पुनः सूर्यमुखी लगाइएको हो।
उनले बताए, “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ। यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ।” अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा ८०० रुपैयाँ र दाना प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भएको जानकारी अधिकारीले दिए। यस पटक अधिकारीले एकल रूपमा खेती गरेका छन्, जबकि दुई वर्षअघि चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो।
त्यो समयमा फूल फुलेर खेत क्षेत्र अत्यन्तै आकर्षक बनेको थियो र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेहरूको संख्या उल्लेख्य रहेको उनले बताए। बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अधिकारीको दाबी छ। फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ।
लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएका छन्। सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन उनले खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरेका छन्। साथै, श्रीपुर गाजर उत्पादनका लागि परिचित क्षेत्र भएकाले उनले प्राङ्गारिक गाजर पनि लगाएका छन्।
अधिकारीको नेतृत्वमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले पनि विभिन्न बाली लगाउँदै आएका छन्। करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न उनले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन्।






















