प्रविधिको सहायताले चितवन निकुञ्जमा सुरक्षा कडा, चोरीसिकारी नियन्त्रणमा सफलता
चितवन, १० चैत्र । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग बढाएको छ। परम्परागत सुरक्षा गस्ती, स्वीप र एम्बुसिङसँगै प्रविधिमैत्री उपायहरू लागू गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार लामो, मध्यम र छोटो दूरीका नियमित गस्ती, सुराकी परिचालन तथा संयुक्त अनुसन्धान सेलमार्फत सुरक्षा व्यवस्थापन भइरहेको छ।
हाल निकुञ्जमा चार वटा तालिमप्राप्त कुकुर पनि सुरक्षामा खटिएका छन्। यसका साथै रियल टाइम मोनिटरिङ, सिसीटिभी क्यामेरा, ड्रोन, सवारी साधन ट्र्याकिङ प्रणालीजस्ता प्रविधिको प्रयोग गरिएको छ। पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनमार्फत समेत गस्ती सञ्चालन भइरहेको छ।
प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको थापामगरले बताए। उनका अनुसार यसले वन्यजन्तु सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र अवैध अखेटोपहारसहित हिँडेकालाई नियन्त्रणमा लिन सहयोग पुगेको छ।
वन्यजन्तु संरक्षणमा प्रविधिसँगै साझेदार संस्थाहरूको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले स्थानीय युवा परिचालन समिति, नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको बताए।


















