टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन्द्र शाह समावेश
चितवन, ०३ बैशाख । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकी प्रतिष्ठित टाइम म्यागजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्।
उक्त सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चिनफिङसम्म परेका छन्। नेताहरूतर्फ विश्वभरका २५ जना समेटिएका छन्।
३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनमा ऐतिहासिक जित निकाल्दै नेपालको प्रधानमन्त्री बनेका हुन्। युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्षको जनआन्दोलनको प्रभावले उनको उदय सम्भव भएको टाइमले विश्लेषण गरेको छ।
टाइमका एडिटर–एट–लार्ज चार्ली क्याम्पबेलले तयार पारेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा व्याख्या गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनसमर्थनले उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्याएको उल्लेख गरिएको छ।
राजनीतिमा प्रवेश गर्नुअघि हिप–हप कलाकारका रूपमा चिनिएका शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका पहल गरेका थिए, जसले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनाएको बताइएको छ।
स्पष्ट र कडा अभिव्यक्तिका कारण चर्चित शाहले भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। उनको संगीत पृष्ठभूमिले पनि युवामाझ विशेष प्रभाव पारेको उल्लेख गरिएको छ।
यद्यपि, स्थानीय तहमा प्राप्त सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच उनको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा चासो केन्द्रित भएको टाइमले जनाएको छ।



















