भोलिदेखि बजेट अधिवेशन सुरु, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
चितवन, २७ बैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भोलि अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजेसम्म उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले आग्रह गरेको छ । त्यसअघि अपराह्न २ बजे दुवै सदनका छुट्टाछुट्टै बैठक बस्नेछन् ।
प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना प्रस्तुत गरिने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, प्रतिनिधिसभा नियमावलीसँग सम्बन्धित प्रस्ताव तथा बाधा अड्काउ फुकाउ अनुमोदनसम्बन्धी विषय पनि बैठकमा प्रस्तुत गरिनेछ ।
साथै सरकारले जारी गरेका सार्वजनिक खरिद, संवैधानिक परिषद् तथा सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेशसहित आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिने संसद् सचिवालयले जनाएको छ ।

















