खैरहनीले ल्यायो १ अर्व ८ करोडको बजेट, पूर्वाधारमा मात्रै ४९ प्रतिशत बजेट विनियोजन
चितवन , १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्व ८ करोडको बजेट ल्याएको छ । नगरपालिकाको आज सम्पन्न १९ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८३÷८४ को लागि १ अर्व ८ करोड ७३ लाख ३१ हजार ३ सय २५ रुपैयाँको बजेट पारित गरेको छ । नगरसभामा उप प्रमुख कविता उप्रेतीले प्रस्तुत गर्नुभएको बजेटमा १ अर्व ५ करोड ८३ लाख ३१ हजार ३ सय २५ रुपैयाँ आय हुने अनुमान गरिएको छ भने व्ययतर्फ १ अर्व ८ करोड ७३ लाख ३१ हजार ३ सय २५ रुपैयाँ हुने अनुमान गरिएको छ । नपुग रहेको २ करोड ९० लाख रुपैयाँ नगर तथा वडाको विभिन्न स्थायी कोषहरुबाट सापटी लिएर पूर्ती गरिने उप प्रमुख उप्रेतीले बताउनुभयो । कुल अनुमानित बजेटमध्य सबैभन्दा धेरै पूर्वाधार विकासमा ५३ करोड ४२ लाख ११ हजार ३ सय २५ जुन कुल बजेटको ४९ दशमलव १३ प्रतिशत हुन्छ । त्यस्तै आर्थिक विकासमा ५ करोड ७० लाख २३ हजार , सामाजिक विकासमा ३४ करोड ५१ लाख ४२ हजार र सुशासन तथा संस्थागत क्षमता विकासमा १५ करोड ९ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ । आगामी आर्थिक बर्षमा नगरपालिकाको आन्तरिक आय १९ करोड ८० लाख ५० हजार हुने अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी बर्ष पूर्वाधार विकाससँगै कृषि , पशु सेवा , रोजगार , शिक्षा, स्वास्थ्य र सूचना तथा प्रविधिलाई प्राथमिकता दिने निति लिएको नगर प्रमुख शशि कुमार खनियाले बताउनुभयो । नगरसभामा नगर प्रमुखले निति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरसभामा उप प्रमुख कविता उप्रेतीले बजेट वक्तव्य , अर्थिक विधेयक २०८३ , विनियोजन विधेयक २०८३ , लेखा समितिको प्रतिवेदन लेखा समितिका सदस्य बुधरमिया महतो , न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति सदस्य केदारनाथ पन्तले प्रस्तुत गर्नुभएको थियो ।आजको नगरसभाले आर्थिक बर्ष २०८३ ८४ को निति कार्यक्रम, आर्थिक बर्ष २०८३ ८४ को बजेट वक्तव्य , आर्थिक बर्ष २०८३ ८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८३ , खैरहनी नगरपालिकाको विनियोजन विधेयक २०८३ , लेखा समितिको प्रतिवेदन , न्यायिक समितिको प्रतिवेदनहरु सर्वसम्मत पारित भएको थियो । त्यस्तै आर्थिक बर्ष २०८२÷८३ मा भएका विभिन्न नितिगत निर्णयहरु, प्रतिवेदनहरु नगरसभाबाट अनुमोदन तथा स्विकृत भएको नगर सभाका सचिव तथा खैरहनी नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
























