काम नगर्ने मेयर र मन्त्रीलाई पनि कारबाही गर्छौं : मन्त्री सुनील लम्साल
चितवन, २२ असार । पूर्वाधारमन्त्री सुनील लम्सालले जनप्रतिनिधि र पदाधिकारीहरूले जनताको पक्षमा इमानदारपूर्वक काम गर्नुपर्ने बताएका छन्। शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले जनताको काममा लापरबाही गर्ने मेयरदेखि प्रदेश मन्त्रीसम्मलाई कारबाही गरिने चेतावनी दिएका हुन्।
उनले कुनै मेयरले जनताको काम नगरे, सेवामा लापरबाही गरे वा नागरिकलाई अपहेलना गरे त्यसबारे जानकारी गराउन आग्रह गर्दै आवश्यक परे मेयरलाई पनि कारबाही गरिने बताए। त्यस्तै, प्रदेश मन्त्रीले पनि जिम्मेवारीअनुसार काम नगरे उनीहरूलाई समेत कानुनी दायरामा ल्याइने उनको भनाइ थियो।
मन्त्री लम्सालले सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै जनताको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
यसअघि धादिङमा सडक आयोजनाको अनुगमनका क्रममा विद्युत्का पोल समयमै नहटाएको विषयमा निर्माण व्यवसायीको “खुट्टा भाँच्न” निर्देशन दिएको अभिव्यक्तिका कारण मन्त्री लम्सालको व्यापक आलोचना भएको थियो।


























