दाङका वडाध्यक्षमाथि कार्यकक्षमै रड र लाठी प्रहार
दाङ, १६ असार ।
दाङको शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेका बेला आज ९मंगलबार० करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
चार–पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको डीएसपी खड्काले जानकारी गराएका छन् । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले मोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।
घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए । वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताएका छन् ।



















