प्रदेश १ सरकारले प्रहरीलाई दियो १ सय ८० थान मोटरसाइकल
काठमाडौं ,२१ असार
नेपाल प्रहरीलाई १ सय ८० थान मोटरसाइकल प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको छ। आन्तरिक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको हो।
प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रहरी १ का प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीलाई मोटरसाइकल तथा स्कुटरको चाबी हस्तानतरण गरे। चाबी हस्तानतरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विभिन्न अपराध कार्यमा संग्लग्न व्यक्तिहरुले अपराधका नयाँनयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको विकल्प नरहेको बताए।
हरेक प्रहरी युनिटमा सवारी साधन पुर्याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रदेश सरकारको दूरगामी नीति रहेको हुँदा सवारी साधन उपलब्ध गराइएको उनको भनाइ थियो। मन्त्रालयले प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टिभीएस कम्पनीको १६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाइकल ८० थान र यमाहा कम्पनीको १२५ सिसीको यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो।
यसैगरी, ट्राफिक व्यवस्थापनमा सहजताका लागि मन्त्रालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाइकल हस्तान्तरण गरेको थियो। चाबी हस्तानतरण कार्यक्रममा सवारी साधनको चाबी ग्रहण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले प्रदेश सरकारलाई धन्यवाद दिएका थिए।



















