जाजरकोट पहिरो : थप एकको शव भेटियो , मृतकको संख्या १० पुग्यो
जाजरकोट, २८ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव आज (आइतवार) भेटिएको छ ।
योसहित मृतकको संख्या दश पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएका दुई जनासहित १२ जना बेपत्ता भएका थिए ।
पहिरोमा परी बेपत्ता ११ वर्षीय कमला सार्कीको शव उद्धार टोलीले भेटेको हो । कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन् ।
पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्की(दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १८ वर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको,३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सुभास सार्कीको पनि शव पहिचान भइसकेको थियो । उक्त पहिरोमा पुरिएर अझै दुई जना हराइरहेका छन् ।
पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन् ।




















