साढे तीन बर्षमा २२ प्रजातीका अखेटोपहार संकलन
चितवन, २३ मंसिर ।
चितवन राष्ट्रिय निकुञ्जले साढे तीन बर्षको अवधीमा २२ प्रजातीका अखेटोपहार (वन्यजन्तुका अंगप्रत्यंग) संकलन गरेको छ । चोरी शिकारी, तस्करी लगायतबाट बरामद भएका वन्यतन्तुहरुको अखेटोपहार निकुञ्जले संकलन गरेको हो ।
निकुञ्जले यसअघि २० बर्षको अवधिमा भण्डारण गरेर राखिएका ४८ प्रजातिका अखेटोपहार ०७४ जेठ ८ गते जलाएर नष्ट गरेको थियो । निकुञ्जको केन्द्रिय अखेटोपहार भण्डारण केन्द्रमा अहिले गैंडाको खाग १४६ वटा, गैंडाको खुर एक हजार २३९ वटा, बाघको छाला १२ वटा, चितुवाको छाला ८३ वटा, रेड पाण्डाको छाला ३८ वटा र ध्वाँसे चितुवाको छाला ७ वटा छन् ।
त्यस्तै, चिरुको रौँ ७५ बोरा, कस्तुरीको विना नौ वटा, सालकको खपटा सहितको छाला ६ वटा, सालकको खपटा २३९.२८ किलो, बाघको हड्डी ९५ किलो, भालुको छाला २ वटा र भालुको पित्त १५ वटा संकलन भएको छ । चरिबाघको छाला ३ वटा, अजिंगरको छाला ३ वटा, हिँउ चितुवाको छाला २ वटा, पञ्जा ४ वटा, पुच्छर एउटा र जुंगा १५ वटा, कालो भालुको पञ्चा ८ वटा, भालुको नंग्रा ४ वटा र गोहीको छाला ३ वटा संकलन भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
बरामद गरेर लामो समयसम्म भण्डारण गरिएका गैंडाका खागहरुमा किरा लागेर केहि अवशेषहरु मात्र बाँकी रहेको उनले बताए । छाला तथा अन्य अखेटोपहारहरु पनि ओसका कारण कुहिएको र केहि कुहिने क्रममा रहेको उनले जानकारी दिए ।



















