अपराधी विरुद्ध कठोर हुन्छु : डिएसपी राना
चितवन, २१ फागुन ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रवबहादुर रानाले पीडितमैत्री प्रहरी सेवा आफ्नो प्राथमिकता रहने बताएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा तीन दिन अगाडि प्रमुख भएर आएका डिएसपी रानाले शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा पीडितमैत्री सेवामा प्रतिबद्ध रहने बताएका हुन् । पीडितलाई न्याय दिने गरी काम गर्छु डिएसपी रानाले भने, ‘चुस्तदुरुस्त र द्रूत सेवामा प्रतिबद्ध रहन्छु ।’ डिएसपी रानाले यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम राख्न आफ्नो टिम प्रतिबद्ध रहने पनि बताए ।
आम नागरिकको सहयोगले मात्रै अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम हुने उनको भनाइ थियो । सोही अनुसार आफूले सहयोगको अपेक्षा राखेको रानाले बताए । अपराधी पत्ता लगाउने सवालमा आफू कठोर बन्ने पनि उनले बताए । पछिल्लो समय लागू औषध दुव्र्यसनी र साईबर क्राईम बढ्दै गएको उल्लेख गर्दै डिएसपी रानाले जनचेतनामूलक कार्यक्रम मार्फत यसलाई न्यूनिकरण गर्ने बताए ।
देशको तेश्रो पर्यटकीय गन्तव्य सौराहा आफ्नै क्षेत्राधिकारभित्र पर्ने भएकाले यहाँ आपराधिक घटना नहोस् भन्नेमा चनाखो रहने पनि उनको भनाइ थियो । आन्तरिक र वाह्य पर्यटक सुरक्षित रहने वातावरण समेत तयार पर्ने रानाले बताए । सो अवसरमा पत्रकारहरुले मिडियामैत्री भएर सूचना आदानप्रदान गर्न सुझाव दिएका थिए । डिएसपी राना यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता रहेका थिए ।



















