हत्यामा संलग्न तीन जना पक्राउ
चितवन, २६ फागुन ।
गत फागुन १० गते भरतपुर–३ स्थित नगर वनको सडक छेउमा मृत भेटिएका लम्जुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ५ घर भइ भरतपुर–१ बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्यामा संलग्न अभियोगमा प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ ।
गुरुङको शव भेटिएपछि प्रहरीले घटनास्थलको प्रकृति तथा पोष्टमार्टम परीक्षण रिपोर्ट प्रतिवेदनपछि घटनाबारे अनुसन्धान अगाडि बढाएको थियो । कुटपिटबाट हत्या भएको देखिएपछि अनुसन्धान अगाडि बढाउँदा घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । प्रहरीको अनुसन्धानबाट सो घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नवलपरासी पूर्वको गैँडाकोट–२ का ४२ वर्षीय सञ्जय गजुरेल, चितवनको भरतपुर–२७ का २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका–७ का ३० वर्षीय रामबहादुर परियारलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
उनीहरुलाई फागुन २२ गते पक्राउ गरी सोधपुछ गर्ने क्रममा जानकी गेष्ट हाउसमा हत्या गरेर नगर वनको छेउमा सडकमा लगेर फालेको स्वीकार गरेका चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई २२ गतेदेखि लागू हुने गरी चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तरगत ज्यान सम्बन्धि कसुर मुद्दामा अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।
अभियुक्तबाट प्रहरीले मृतकले प्रयोग गर्ने एक थान मोबाइल, मृतकको झोला, मृतकको सार्ट हाफ पाइन्ट र टिसर्ट बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै, मृतक गुरुङको शव व्यवस्थापनमा प्रयोग भएको ना२ह १२४० नम्बरको अटो समेत प्रहरीले नियन्त्रणमा लिएको थापाले बताउनुभयो । पक्राउ परेका तीनै जना विरुद्ध कसुर प्रमाणित भएमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १७७ मा जन्मकैदको व्यवस्था हुनेछ ।



















