प्रहरीलाई घुस दिन खोज्ने चार जना पक्राउ
चितवन, २७ फागुन ।
प्रहरीलाई घुस दिन खोज्ने विरुद्ध चितवन प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । सवारी साधनका चालकले आफ्नो गल्ती ढाकछोप गर्नभन्दै प्रहरीलाई घुस दिने गरेकोमा यस्तो गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय भएको छ ।
आफ्नो गल्ती लुकाउन भन्दै पछिल्लो एक हप्ताभित्र प्रहरीलाई विभिन्न समयमा घुस दिन खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ देउराली का ३२ वर्षीय भरत लुंगेली मगर, नवलपरासीकै गैँडाकोट नगरपालिका–२ का ३२ वर्षीय सुरज शाही, कावासोती नगरपालिका–१४ का २८ वर्षीय राज कुमार श्रेष्ठ र बर्दियाको राजापुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश थारूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले फागुन २२ गते बिहान नारायणगढको पुलचोकमा ड्यूटीमा खटिएका प्रहरीले ना३ख २३२२ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रक चालकले घुस दिन खोज्दा उनी पक्राउ परेका जानकारी दिए । चालक नवलपुरका लुंगेली मगरले चितवन राइस मिल समितिको चलानी पत्र भित्र एक सय रुपैयाँ राखेर दिन खोज्दा उनलाई कानुनअनुसार कारबाही गरिएको अधिकारीले बताए । लुंगेली मगरले आफ्नो साथमा सवारी चालक अनुमति पत्र नभएको भन्दै प्रहरीलाई घुस दिन खोजेका थिए ।
त्यसैगरी, फागुन २३ गते बिहान नारायणगढको पुलचोकमा नै दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ जाने बा१३च ५७९७ नम्बरको कार रोकेर यात्रु चढाइदिन्छौँ केही रकम ट्राफिक प्रहरीलाई पनि दिनुपर्छ भन्दै पैसा मागेको अवस्थामा नवलपुरका सुजन शाही र राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको अधिकारीले बताए । कारसँग पैसा मागेको सूचनाका आधारमा उनीहरुसँग सोधपुछ गर्ने क्रममा प्रहरीको काममा अवरोध गर्दै अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।
त्यसैगरी, फागुन २५ गते राति प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने बर्दियाका थारुलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले बताए । भरतपुर ओरालोमा ड्यूटीमा खटिएको प्रहरीले शंकास्पद रुपमा गुडिरहेको ना५ख ३१०२ नम्बरको ट्रक रोकेर कागजपत्र जाँच गर्दा चालकले सवारी दर्ता किताबभित्र एक हजार रुपैयाँ राखेर दिनखोज्दा थारुलाई पक्राउ गरिएको अधिकारीको भनाइ छ । पछिल्लो समय प्रहरीलाई घुस दिन खोज्ने चालकलाई कारबाही गर्दै घुस नलिने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिदै आएको छ ।
घुस लिनु र दिनु दुवै दण्डनीय हो भन्ने सन्देश दिनका लागि समेत घुस दिनखोज्ने व्यक्तिलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।



















