चितवनमा नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सहित चार जना पक्राउ
चितवन, ९ चैत ।
जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोट कारोबारमा संलग्न चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । चितवनको भरतपुर–१ बसपार्क क्षेत्रका पसलमा नक्कली नोट दिइ सामान खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले गत शुक्रबार सो क्षेत्रमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राईलाई नेपाली एक हजार रुपैयाँ दरका ७८ थान नोट सहित पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नक्कली नोट बनाउने कार्यमा सिन्धुपाल्चोक मेलम्ची–१३ का २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवारको समेत संलग्नता रहेको खुलेपछि उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो । नक्कली नोट बनाउने व्यक्तिहरुले किराना पसलमा गएर सामान्य सामग्री किनेर पैसा साट्ने गरेको खुलेको उहाँले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, हार्ड डिस्क एक थान, प्रिन्टर तीन थान तथा कार्ड रिडर एक थान बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरू उपर संगठित अपराध तथा निवारण ऐन, २०७० अन्तर्गत मुद्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – २२ को दफा २५६ मा खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुँदैन, त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तै, सङ्गठित अपराध निवारण ऐन, २०७० मा प्रचलित कानुन अनुसार हुने सजायको अतिरिक्त थप पचास प्रतिशत सजाय हुने व्यवस्था छ ।



















