ताक्लाकोटबाट भागेका एक नेपालीलाई कोरोनाको आशंका, उपचारमा समस्या
हुम्ला, १९ फागुन ।
कामका लागि उत्तरी नाकापार ताक्लाकोट गएका एक नेपाली युवक त्यहाँबाट भागेर हिल्सा हुँदै हुम्लाको मुचु आइपुगेका छन् । ताक्लाकोटबाट भागेका उनी ५ हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोल्दै आउँदा हिउँले उनका हताखुट्टा खाएर हिड्न नै नसक्ने अवस्थामा छन् । नाम्खा गाउँपालिकाको तुम्कोट नजिकै मुचु प्रहरी चौकीले उनलाई नियन्त्रणमा लिएको छ ।
ताक्लाकोटबाट चिनिया प्रहरीले एक जना नेपाली युवा भागेकाले नियन्त्रणमा लिनु भनेर खबर गरेपछि सो व्यक्तिलाई अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा मुचु प्रहरी चौकीमा राखिएको हुम्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए ।
भागेका युवकको नाम नखुले पनि उनी सिमकोट गाउँपालिका वडा नम्बर ३ लिमाटाङ गाउँका रहेको प्रहरीले बताएको छ । हिउँले खुट्टा खाएर हिड्न नसक्ने अवस्थाका उनलाई नाम्खा गाउँपालिका वडा नम्बर ५ को मुचुमारहेको स्वास्थ्य चौकीमा उपचार गर्न खोज्दा स्थानीयले विरोध गरेका छन् । चीनबाट भागेर आएको भएकाले ती युवकलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका गर्दै स्थानीयले स्वास्थ्य चौकीमा उपचार गर्न नदिएपछि उनको उपचारमा समस्या भएको हो ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न नदिएपछि प्रहरीको निगरानीमा नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को मुचु क्षेत्रको बाटोमा विनाउपकरण उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए ।
ती युवकलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको भए पनि नपाएपछि फिर्ता गएको थियो । युवकको उपचारमा समस्या आएपछि उनको उद्धार तथा थप उपचारको व्यवस्थाका लागि आफन्तहरुले स्थानीय प्रहरी प्रशासन मार्फत गृहमन्त्रालयलाई अनुरोध गरेका छन् तर गृहमन्त्रालयबाट यसको कुनै सुनुवाई नभएको आफन्तले बताए ।
- न्युज २४ बाट साभार






















