चितवन प्रदर्शनी केन्द्रमा जुत्ताचप्पल प्रदर्शनी सुरु
चितवन, १७ फागुन ।
चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी सुरु भएको छ ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पोमा १० वटा उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ताचप्पल राखिएका छन् । प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ताचप्पल अनिवार्य जस्तै भइसकेको भन्दै स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बताए । स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गरेको भए पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली उद्योगले उत्पादन गर्नुपर्नेमा अधिकारीले जोड दिए ।
जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वेदशमै भएका कच्चापदार्थ प्रयोग गरेर नेपाली सामान उत्पादन गर्न पनि अधिकारीले सुझाव दिए । स्वदेशी सामग्रीबाट जुत्ताचप्पल निर्माण गर्न सकेको अवस्थामा नेपाली मुद्रा विदेशीने क्रम घट्ने उनको भनाइ थियो ।
चैत १७ गतेसम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेका नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो ।
नेपाल फुटवयर एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको बताए । प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । नेपालमा एक हजार पाँच सय उद्योग रहेको भन्दै घिमिरेले तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय रहेको जानकारी दिए । नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लागत रहेको उनको भनाइ छ ।




















