चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ
चितवन, १७ फागुन ।
चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र कारमा सवार सोही स्थानका वर्ष ४२ का नरेश वर्मा रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी १२ एभी ५५६६ को नेक्सन कम्पनीको कारलाई भरतपुरको गोन्द्राङमा रोकी कारमा सवार चालक समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा खोजतलास गर्दा बहुमूल्य गरगहना बरामद गरेको हो ।
प्रहरीले ६३.८९८ तोला सुनका विभिन्न गरगहना तथा २२.८७८ तोला हिराजडित गरगहना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीषक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका गरगहनाको मूल्य एक करोड १० लाख रुपैयाँ रहेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको कारमा खोजतलासी गर्दा कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र एयर फिल्टरभित्र लुकाई छिपाई ल्याएको गरगहना बरादम गरेको हो । बहुमूल्य हिरा र सुनका गर गहना, विभिन्न किसिमका पत्थर समेत फेला परेकोले उक्त गरगहना, पथ्थर, कार र मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















