लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता अभियान सुरु
भरतपुर । नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु गरेको छ । शनिबार २८ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकबाट खोलेसिमलसम्म ¥याली समेत निकालेका थिए ।
ग्रामीण क्षेत्रबाट आएका लघुवित्तकर्मी एवं लघुवित्तका सदस्यहरुले ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तीय अराजकता बन्द गर’, ‘प्रतिस्पर्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ लगायतका प्लेकार्ड बोकेर नारासमेत लगाएका थिए । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले वित्तीय अनुशासन भए आर्थिक रुपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकता भन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो ।
घरका अभिभावक सचेत बनी बैंकको अवस्था, लगानीकर्ताको पहिचान गरी कारोबार गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि वित्तीय संस्थाहरुले रुवायो भन्दै नारा लगाउनु उचित होइन ऋण लिएपछि सबैले तिर्नुपर्छ ।” लागानी गर्ने वित्तीय संस्थालाई समेत उहाँले मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थाको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले कोरोनापछिको आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताउनुभयो । लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । लघुवित्त वित्तीय संस्थाहरुले बढी व्याज लिएको भन्ने सन्र्दभमा उहाँले अहिले लघुवित्तहरुले बढीमा १५ प्रतिशत व्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गर्नुभयो ।
अहिलेको अवस्थामा अन्य अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तले लिने ऋणको व्याज कम रहेको जनाउँदै उहाँले सदस्यलाई घरमा नै पुगेर सेवा प्रदान गर्नुपर्दा वार्षिकरुपमा १५ प्रतिशत व्याजदर लिनुपरेको बताउनुभयो । लघुवित्त वित्तीय संस्थाकै कारण ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन सफल भएको लम्सालको दाबी थियो । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उहाँले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकोले त्यहाँ छलफल भइरहेको बताउनुभयो । अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुनःताजगीकरण एवं नवीकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उहाँले बताउनुभयो । दोहोरो सदस्यता भएकै कारण समस्या आएको उहाँको जिकिर थियो ।
अहिले लघुवित्तका सदस्यहरुमा देखिएको विभिन्न समस्या वित्तीय साक्षरताको कमी भएकै कारण भएको महसुस गरी वित्तिय साक्षरता अभियान सुरु गरेको उहाँले बताउनुभयो । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका उपाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता एलिमा मिया खातुनले ऋण लिएपछि स्वभाविक रुपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गर्नुभयो । यसअघि गत पुसमा लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो ।
लघुवित्त संस्थाले नै महिला सशक्तीकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उहाँले तर्क गर्नुभयो । उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्रीले ग्रामीण क्षेत्रमा देखिएको आर्थिक विचलनलाई क्रमिक रुपमा कम गर्दै लैजानुपर्ने बताउनुभयो । हालको आर्थिक मन्दीको कारण देखा परेको असहज स्थितिलाई सहज बनाउन प्रभावित परिवार केन्द्रित कार्यक्रम गर्न सके वातावरण सहज बन्दै जाने उहाँको भनाइ थियो ।
लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराईले समस्या लघुवित्त नभई हाम्रो आफ्नै आनिबानी रहेको तर्क गर्नुभयो । ऋणको सदुपयोग गर्न नजान्दा समस्या सृजना भएको महसुस आफूले गरेको बताउनुभयो । उहाँले लघुवित्तबाट लिएकै ऋणका कारण आफूले गरेको व्यवसाय, बाख्रापालन लगायतका प्रगतीबारेका अनुभव सुनाउनुभएको थियो ।
अर्का सदस्य मीना गौतम (गोमा)ले व्यक्ति र प्रवृति गलत हुन सक्ने तर संस्था कहिल्यै गलत नहुने बताउँदै सदस्य चनाखो बन्नुपर्ने बताउनुभयो । आफूले ऋण लिएर घर परिवारको व्यवस्थापनदेखि होटल व्यवसाय गरी राष्ट्रिय पहिचान बनाउन सफल भएको उदाहरण पेश गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजीकरण सुवास पोखरेलले गर्नुभएको थियो ।
देशका ७७ वटै जिल्लामा रहेका स्थानीय निकायहरुमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मार्फत घरदैलोमा नै वित्तीय सेवा पु¥याउँदै आएका छन् । ६० लाख घरधुरी सदस्यले १३ लाख ६७ हजार समूहमार्फत काम गर्दै आएको संघले जनाएको छ । महिलाको वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको दाबी गर्दै आएको छ । संघले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरुआत गरेको छ ।



















