महिला सम्बन्धी घटनामा गम्भीर बनौँ : सरोकारवाला
चितवन, ८ चैत ।
महिला तथा बालबालिका सम्बन्धी घटनामा सबै पक्ष गम्भीर हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । चितवनको भरतपुरमा बसेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति’को बैठकमा सहभागीहरुले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताएका हुन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महिला सम्बन्धित विषयमा आफूहरु संवेदनशील भएको बताउनुभयो । “महिला तथा बालिका बेचबिखनको घटना मात्रै नभएर महिला सम्बन्धि हुने सबै प्रकारका घटनामा हामी संवेदनशील छौँ” पौडेलले भन्नुभयो, “पालिकाबाट घटना हुने भएकाले यस्ता विषयमा पालिकाहरु पनि चनाखो हुनुपर्छ ।” महिला सम्बन्धि सामान्य घटना भएमा पनि प्रहरीमा वा आफूकहाँ जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
“पीडितहरुले जुनसुकै समयमा पनि घटनाबारे जानकारी गराउँदै उजुरी दिनसक्नुहुनेछ” उहाँले भन्नुभयो, “रितपूर्वक निवेदन प्रहरीमा गएर मिलेमतोमा टुङ्गाइयो भने कर्मचारीलाईसमेत कारबाही गर्छौँ ।” संवेदनशील विषयलाई ढाकछोप गर्न नहुने उहाँले बताउनुभयो । त्यसैगरी, हिंसा पीडित कुनै पनि बालबालिका पैसाको अभाव वा अन्य कुनै पनि कारण विद्यालय जान नपाएको भए खबर गर्न आग्रह गर्दै उहाँले त्यस्ता बालबालिकालाई पढ्ने वातावरण तुरुन्तै मिलाउने बताउनुभयो । आगामी दिनमा यसप्रकारको बैठक नियमत गर्ने भन्दै सरोकारवाला निकायको पनि अनिवार्य उपस्थिति हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्थानीय तहले विकास निर्माणलाई बढी ध्यान दिएका भन्दै महिला तथा बालिबालिकाको क्षेत्रमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो । गरिब तथा ग्रामीण बस्तीमा विद्यालय उमेरका बालबालिकाहरु बीचमै विद्यालय छोडेर हिँड्ने गरेका भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानबाट १८ वर्षमुनिका बालिकाहरुलाई होटल तथा रेष्टुराँमा लगेर यौन क्रियाकलापमा संलग्न गराइने गरेको बताउनुभयो ।
बाइट…
“चितवनको भरतपुर क्षेत्रमा रहेका कतिपय होटलले बालिकाहरुलाई यौन व्यवसायमा लगाउने गरेका छन्” उहाँले भन्नुभयो, “कन्ट्याकमा यौन व्यवसाय गर्ने होटल तथा रेष्टुराँ व्यवसायीले यौन क्रियाकलापमा संलग्न बालिकालाई आधा पैसा र आधा पैसा आफूले राख्ने गरेका छन् ।” त्यसैगरी वैदेशिक रोजगारमा गएका धेरै महिलाहरु जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य रहेका गिरीको भनाइ छ । साउदी, कतार, ओमनलगायतका देशहरुमा दलालले ललाईफकाइ पठाउने गरेको भन्दै त्यस्ता देशबाट केही महिलाहरुलाई माइती नेपालले उद्धार गरेर कानुनी उपचार गरिरहेको गिरीको भनाइ छ । अहिले माइती नेपालले १८ वर्षमुनिका बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा सामरी उत्थान केन्द्रका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले मनोरञ्जन तथा सत्कार क्षेत्रबाट महिला तथा बालिकाहरु बेचबिखनमा पर्ने गरेका बताउनुभयो । चितवनको बाँदरझुला र राप्ती नगरपालिकाको वडा नम्बर ५ बाट धेरै महिला तथा बालिकाहरु मनोरञ्जन क्षेत्रमा काम गर्न गएका भन्दै उहाँले उनीहरुलाई यौन क्रियाकलाप गर्न बाध्य पारिएको बताउनुभयो । सामरीले दलित तथा सिमान्तकृत क्षेत्रमा शिक्षा र स्वास्थ्यमा काम गरेको भन्दै अहिले आन्तरिक मानव बेचबिखनको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सबै घटनाबारे प्रहरी जानकारी हुन नसक्ने भन्दै हिंसाका घटनाबारे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । हिंसासहितका महिला तथा बालबालिका सम्बन्धि घटनामा प्रहरी संवेदनशील भएर काम गर्ने गरेको भन्दै कार्कीले प्रहरीमा जानकारीमा आएको विषयमाथि सुक्ष्म ढंगले अनुसन्धान गरिने बताउनुभयो । महिला बेचबिखन तथा घरेलु हिंसाको विषयमा प्रहरीले तुरुन्तै एक्सन लिने गरेको कार्कीको भनाइ छ



















