गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नडिपीआर तयार गरिने
चितवन । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ ।
अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोटका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ सङ्घर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ ।
गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन् । नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिए । हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ ।
नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताए ।
त्रिपक्षीय सम्झौतापछि गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए । तटबन्धको डिपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उनले प्रतिबद्धता जनाए। सहमतिपछि सङ्घर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए ।



















