खैरहनीमा अटिजम सम्बन्धि तालिम
चितवन , २७ माघ । खैरहनीमा अटिजम सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । चितवन उद्योग संघ खैरहनी समिति, महिला उद्यमी मञ्चको आयोजनामा अटिजम सम्बन्धी सचेतनामूलक तालिम सुरु भएको हो । तालिमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख खनियाँले नगरपालिका निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडी बढ्न तयार रहेको भन्दै उद्योग संघलाई अन्य कार्यक्रममा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्वास्थ्यसँग सम्बन्धित विभिन्न कामहरु गरेको बताए । चितवन उद्योग संघ खैरहनी समिति, महिला उद्यमी मञ्चकी अध्यक्ष जिनिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरे ,चितवन उद्योग संघ खैरहनी समितिका अध्यक्ष युवराज पाठकले मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा बोल्दै उनीहरुले तालिममा सिकेको विषयवस्तु गाँउघरमा अरुलाई समेत सिकाउन आग्रह गरे ।
पछिल्लो समय अभिभावकहरु आफ्नो काममा व्यक्त हुने गर्दा बच्चाहरुले राम्रो स्याहार नपाएको , घर र कोठामा मात्रै केन्द्रित भएर मोबाइल र टिभीको लतमा परेकोले त्यसतर्फ सचेत रहन आग्रह गरे । बालवालिकहरुलाई बाहिरी वातावरणमा घुलमिल हुने वातावरण बनाउन आवश्यक रहेको उनीहरुले बताए । तालिममा चितवन अटिजम सेन्टरकी प्रशिक्षक प्रमिला न्यौपानेले प्रशिक्षण दिएकी थिइन् । आजको तालिममा अटिजम के हो , अटिजम भएकालाई कस्तो व्यवहार गर्ने , उपचार कसरी गर्ने , हेरचाह कसरी गर्ने , उनीहरुको कुरा कसरी बुझ्ने , उनीहरुको सवल पक्षहरुलाई कसरी प्रोत्साहन गर्ने लगायतको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको प्रशिक्षक न्यौपानेले बताइन् ।
खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिममा ५० जना अभिभावक तथा शिक्षिकाहरुलाई प्रशिक्षण दिइएको महिला उद्यमी मञ्चकी सचिव सुष्मा शिवाकोटीले जानकारी दिइन् ।





















