उवासंघ खैरहनी अधिवेशन,व्यवसायीको हितमा अघि बढ्ने एजेन्डासहित खनाल नेतृत्वको समूह मैदानमा
चितवन , २९ माघ । उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि कुमार खनाल नेतृत्वको समूह चुनावी मैदानमा होमिएको छ । सर्वसम्मत कार्यसमिति चयन गर्ने पहल भएपनि केहि पदमा सर्वसम्मत हुनसकेन । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष , उद्योगतर्फको उपाध्यक्ष , एशोसिएट उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष , उद्योगतर्फको सदस्य र महिला सदस्यमा निर्विरोध चयन भएपनि वाणिज्यतर्फको उपाध्यक्ष वाणिज्यतर्फको सदस्यमा सर्वसम्मत हुनसकेन । एक पदमा एकभन्दा बढी उम्मेदवारी दर्ता भएपछि उक्त पदमा मतदान हुने भएको हो ।
उपाध्यक्ष पदमा खनाल समूहबाट क्षेत्रबहादुर रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदमा विक्रम खड्का , लाल प्रसाद चालिसे (अन्जन) , प्रेमनारायण जोशी , प्रविण खरेल , बावुराम भट्ट , लक्ष्मण विसुराल र तुलसी आर्चा (शरन)ले उम्मेदवारी दिएका छन् । सहमतिको प्रयास गर्दा गर्दै केहि साथीहरुलाई मिलाउन नसकेकोले निर्वाचनको प्रक्रिया अगाडी बढेको आज खैरहनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्विरोध भएका कुमार खनालले बताए ।
उनले आफ्नो नेतृत्वको समूहमा रहेर निर्विरोध नभएका उम्मेदवारहरुलाई मतदान मार्फत विजयी गराउन आग्रह गरे । उद्योग वाणिज्य संघमा सर्वसम्मत कार्यसमिति चयनको लागि खैरहनीमा क्रियाशिल विभिन्न राजनितिक दलहरुले आपसी सहमती गरेका थिए । सोहि अनुसार खनालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएकामध्य केहि पदमा सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियामा जान लागेको उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । व्यवसायीहरु आर्थिक मन्दीको मारमा रहेकोले खर्चिलो निर्वाचन गर्नुभन्दा सहमतिमा कार्यसमिति चयन गर्ने अभिप्राय अनुरुप अझै प्रयास गरिरहेको उनले बताए ।
आफ्नो समूहलाई उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरुको समेत समर्थन रहेको अध्यक्ष पदमा निर्विरोध भएका खनालले बताए । संघको अधिवेशन फागुन ७ गतेलाई तोकिएको छ । फागुन ६ गतेसम्म पनि सहमतिको प्रयास कायम नै रहने र आफूहरुले प्रयास गर्ने उद्योग वाणिज्य संघ खैरहनीका पुर्वअध्यक्ष गुणराज श्रेष्ठले बताए । खनाल नेतृत्वको समूहमा समावेश भएका बाहेक वाणिज्य उपाध्यक्षमा केदार बर्तौला र वाणिज्य सदस्यतर्फ अजय न्यौपाने , प्रकाश मुडबरी , रामकृष्ण बर्तौला र विनोद नेपालले उम्मेदवारी दिएका छन् ।





















