सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन
चितवन, ३१ बैशाख । सुँगुरको आनुवांशिक रूपमा परिमार्जित मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको २ करिब २ महिनापछि उनको मृत्यु भएको छ । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए । तर, त्यसविपरीत स्लेम्यानको २ महिनामै मृत्यु भयो । शनिबार अस्पताल र उनका परिवारका स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका छन् ।अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दु:खी बनेको बताएको छ ।
तर अस्पतालले रिचर्डको मृत्यु मिर्गाैला प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै संकेत नभएको बताएको छ । स्लेम्यान सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने विश्वकै पहिलो जिवित व्यक्ति थिए। यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको मानिसमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो । अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो । मिर्गाैला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए।



















