कङ्गोमा इबोला महामारी भयावह, मृतक संख्या ९३० पुग्यो
चितवन, ०४ साउन । कङ्गोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या कम्तीमा ९३० पुगेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै ३७ जनाको मृत्यु भएको जनाएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो।
पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको इबोला महामारी भएको अधिकारीहरूले बताएका छन्। यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन।
सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण र उपचारका प्रयास प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप सुरु भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भइसकेका छन्।
यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन्। इबोला सङ्क्रमणका कारण हालसम्म ३६ जना स्वास्थ्यकर्मीको ज्यान गएको मन्त्रालयले जनाएको छ।
हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। प्रभावित क्षेत्रमा रोग नियन्त्रण, उपचार तथा निगरानीलाई थप तीव्र बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



















