इडन गार्डेन माविमा प्रत्यक्ष निर्वाचन मार्फत विद्यार्थी नेता छनौट
चितवन, २६ जेठ । चितवनको भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालयले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत विद्यार्थी नेताहरु छनौट गरेको छ ।
विद्यालयले संसदीय निर्वाचनको झल्को दिनेगरी शुक्रबार पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत विद्यार्थी नेता छनौट गरेको विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीले जानकारी दिनुभयो । नमूना मतदानबाट विद्यार्थी नेता छनौट गर्दा विद्यार्थीहरुमा संसदीय निर्वाचन प्रणालीबारे जानकारी हुनुका साथै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न प्रेरित गर्ने सुवेदीको भनाइ छ । विद्यार्थीहरुले मतदान गरी विद्यालयको छात्र प्रमुख, छात्रा प्रमुख, अनुशासन स्वच्छता प्रमुख एवम् हाउस प्रमुख र उपप्रमुख चुनेका सुवेदीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आफ्नो नेता छनौट गरेका प्रमुख निर्वाचन आयुक्त एवम् विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीले जानकारी दिनुभयो । विभिन्न पदमा गरी ११ जना विद्यार्थी नेता निर्वाचित भएका अधिकारीको भनाइ छ । अन्तिम मतपरिणामअनुसार विद्यालय छात्र प्रमुखतर्फ १६७ मत प्राप्त गर्दै कक्षा ९ का सुजन कोइराला निर्वाचित भएका अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी, छात्रा प्रमुखतर्फ एक सय नौ मत प्राप्त गर्दै कक्षा १० की प्रार्थना शर्मा निर्वाचित भएकी छिन् ।
यसैगरी, ब्लु हाउसको प्रमुखमा ३६ मतसहित कक्षा ९ की छात्रा सुभेच्छा राई, उपप्रमुखमा ३१ मतसहित कक्षा ९ कै छात्रा कृषा कँडेल निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त अधिकारीले जानकारी दिनुभयो । त्यस्तै, ड्रागन हाउसको प्रमुखमा कक्षा ९ का छात्र प्रशान्त सिलवाल निर्विरोध निर्वाचित हुँदा उपप्रमुखमा ३१ मत प्राप्त गर्दै कक्षा ९ का छात्रा सिमोन श्रेष्ठ निर्वाचित भए ।
यल्लो हाउसको प्रमुखमा कक्षा ९ का छात्र रोशन क्षेत्री निर्विरोध निर्वाचित हुँदा उपप्रमुखमा २९ मतसहित कक्षा ९ की छात्रा संदिया विक निर्वाचित भएकी छिन् । त्यस्तै रेड हाउस प्रमुखमा ३० मत प्राप्त गर्दै कक्षा ९ का छात्र इमोन गुरुङ निर्वाचित हुँदा उपप्रमुखमा ३१ मत प्राप्त गर्दै एमडी जिक्रुल्लाह निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, अनुशासन स्वच्छता प्रमुखमा एक सय ७३ मत प्राप्त गर्दै कक्षा ९ का छात्र एम डी दिलकश निर्वाचित भएका छन् । मतदानमा कुल २४२ जना मतदाता सहभागी भएका प्रमुख निर्वाचन आयुक्त अधिकारीले जानकारी दिनुभयो ।

























