अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु, चितवनको लोथरमा कार्यालय उद्घाटन
चितवन, १६ साउन । अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा लोथरमा भण्डारणगृह सहितको आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माणको काम सुरु भएको हो । सोहि परियोजना अन्र्तगतको कार्यालय आज चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथरमा उद्घाटन गरिएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिद्दिलाल स्याङ्तानले कार्यालयको उद्घाटन गरेका हुन् । परियोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल आयल निगमका उपनिर्देशक तथा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाका परियोजना प्रमुख ई.प्रदिप कुमार यादवले भारतिय आयल निगम (इन्डियन आयल कर्पोरेशन) र नेपाल आयल निगमबिच भएको बिटुबि सम्भौतामा काम सुरु भएको मितिबाट ५४ महिना अर्थात साढे चार बर्षभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख रहेको आजबाट काम सुरु भएको बताए । उनले ५४ महिनामा काम सक्ने सम्झौता भएतापनि ३ बर्षमै काम सक्ने गरि अगाडी बढेको बताए ।
५९ किलोमिटरको अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइन १८ महिनामा काम सकेको भन्दै अमलेखगञ्ज लोथर ६२ किलोमिटर पाइपलाइन विस्तारको काम तिन बर्षमा सक्ने लक्ष रहेको बताए । पाइपलाइन विस्तार र भण्डारणगृह सहितको आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माणको क्रममा स्थानियलाई रोजगारीमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । परियोजनाको कुल लागत अनुमान १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
जसमध्य अमलेखगञ्ज लोथर पाइपलाइन विस्तारको लागि ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ र लोथरमा निर्माण हुने भण्डारगृह सहितको ग्रिन फिल्ट टर्मिनलको लागि ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको नेपाल आयल निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए ।
लोथरको २३ विगाहा १२ कठ्टा क्षेत्रफलमा निर्माण हुने भण्डारण गृहमा पेट्रोल ३३ हजार किलोलिटर, डिजल ४६ हजार ५ सय किलोलिटर , मट्टितेल १ हजार ६ सय किलोलिटर , हवाई इन्धन १० हजार ८ सय किलोलिटर गरि ९१ हजार ९ सय किलोलिटरको क्षमता रहने पराजुलीले बताए ।




















