देशका पाँच प्रदेशमा आज भारी वर्षा हुने सम्भावना
चितवन, ३१ भाद्र । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहने क्रममा अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभाग र अन्य केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यससँगै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित अन्य केही स्थानमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह उक्लिन सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।





















