नेपालमा मनसुन आगमन थप धकेलियो, एल–निनोको प्रभावले वर्षा कम हुने संकेत
चितवन, ०३ असार । नेपालमा सामान्यतया जुन १३ मा भित्रिने मनसुन यस वर्ष निर्धारित मिति पार हुँदासमेत प्रवेश गर्न सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल–निनो तथा पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको हो।
विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन अझै केही दिन ढिलो हुन सक्ने बताउँदै एल–निनो थप बलियो बन्दै गएको जानकारी दिइन्। उनका अनुसार यसले दक्षिण एसियासहित नेपालमा मनसुन कमजोर बनाउने सम्भावना छ।
मौसमविद्हरूले आगामी मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा बढी रहने प्रक्षेपण गरेका छन्। यसले विशेषगरी धानखेतीमा असर पार्न सक्ने भन्दै कृषि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई खडेरी सहनसक्ने धानका जात प्रयोग गर्न, वर्षाको पानी संकलन गर्न तथा जलवायुमैत्री कृषि प्रविधि अपनाउन सुझाव दिएको छ।


























